२९ श्रावण २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन् नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु नीति निर्माणमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्छौँ : मन्त्री चौधरी



अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती सामना गर्न तथा नीति निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको तीन दिने ‘लोकल कन्फरेन्स अफ युथ’ (एलसीओवाई)को उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनका क्षेत्रमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सम्मेलनबाट प्राप्त निष्कर्ष र सुझावले आगामी दिनमा जलवायु नीति तर्जुमा तथा कार्यान्वयनमा महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले नेपालको जलवायु परिवर्तनमा योगदान न्यून भए पनि भौगोलिक संवेदनशीलताका कारण नेपाल जलवायु जोखिमका दृष्टिले विश्वकै अति संवेदनशील मुलुकमध्ये रहेको उल्लेख गर्नुभयो । सम्मेलनबाट आउने निष्कर्षलाई आगामी कोप–३१ लगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साझा आवाजका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

वर्तमान सरकारमा युवाहरूको उल्लेख्य प्रतिनिधित्व रहेको चर्चा गर्दै मन्त्री चौधरीले युवाका लागि आफ्नो क्षमता प्रदर्शन गर्दै नीतिगत तहमा हस्तक्षेप गर्ने महत्वपूर्ण अवसर रहेको बताउनुभयो ।

सरकारले जलवायु परिवर्तनसँग सम्बन्धित सूचना तथा तथ्याङ्क समुदाय र युवासम्म सहज रूपमा पुर्‍याउन डिजिटलाइजेसनको प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत जलवायु पूर्वानुमान र जनचेतना फैलाउने काम भइरहेको भन्दै उहाँले जलवायु वित्तलाई पारदर्शी र पहुँचयोग्य बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नीति निर्माणमा नवीनता, विज्ञान र स्थानीय ज्ञानलाई समुदायको वास्तविक अनुभवसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी ३.०) को तयारी भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले जलवायु तथा वातावरणसम्बन्धी कानूनलाई दराजमा थन्क्याएर नराखी प्रभावकारी कार्यान्वयनमा लैजाने सरकारको योजना रहेको बताउनुभयो ।

उहाँले हिमाली क्षेत्रमा हिउँ तीव्र गतिमा पग्लिरहेको, पहाडी क्षेत्रमा भूक्षय र पहिरो बढिरहेको तथा तराईमा बाढी, डुबान र अनिश्चित खडेरीजस्ता समस्या देखिएको बताउनुभयो । यस्ता समस्याले कृषि प्रणाली, जैविक विविधता तथा नागरिकको जीविकोपार्जनमा गम्भीर जोखिम सिर्जना गरेको उहाँको भनाइ छ ।

‘विगतमा हामीले सडकबाट युवाका मुद्दा उठाएका थियौँ, अब ती आवाजलाई नीति र कानूनमा रूपान्तरण गर्ने बेला आएको छ,’ मन्त्री चौधरीले भन्नुभयो, ‘सरकारले यस वर्षलाई कानून परिमार्जन र निर्माणको वर्षका रूपमा अघि बढाएकाले जलवायु र वातावरणसँग सम्बन्धित कानूनमा युवाका नवीन सोचलाई समेट्न हामी तयार छौँ ।’

मन्त्री चौधरीले सम्मेलनका आयोजक तथा सहभागीलाई सम्मेलनको निष्कर्षसहित मन्त्रालयमा आएर विस्तृत छलफल गर्नसमेत आह्वान गर्नुभयो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरका युवाहरूले जलवायु परिवर्तनका असर, न्यूनीकरण तथा अनुकूलनका उपायबारे बहस र पैरवी गर्नेछन् ।