काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता सुदृढ गर्न सर्वपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन् । झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले देश, लोकतन्त्र, संविधान र जनताको हितलाई केन्द्रमा राखेर आफू सार्वजनिक जीवनमा सक्रिय रहने बताएका हुन् ।
स्वदेश फर्किएपछि दिएको सन्देशमा देउवाले आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न र देश तथा जनताको सेवा गर्न फर्किएको बताएका छन् ।
देउवाले नेपाली कांग्रेस लोकतान्त्रिक इतिहास बोकेको मात्र नभई दशकौँको राजनीतिक संघर्षबाट आफ्नो अस्तित्व र मर्यादा जोगाउँदै आएको पार्टी भएको उल्लेख गरेका छन् । कांग्रेसका अग्रज नेताहरू बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतको त्याग र योगदानलाई स्मरण गर्दै उनले त्यस विरासतलाई गौरवको पदक नभई जनताको विश्वासका रूपमा ग्रहण गर्नुपर्ने बताए ।
युवा पुस्ताले उठाएको परिवर्तनको मागलाई नेपाली कांग्रेसले आत्मसात् गर्नुपर्ने धारणा राख्दै देउवाले समयसँगै पार्टी र मुलुक पनि अघि बढ्नुपर्ने बताए । उनले गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको स्मरणसमेत गरे ।
उनले परिवर्तनको अर्थ विगतका राजनीतिक संघर्ष र योगदानलाई गलत ठहर गर्नु नभएको बताए । लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि विगतका पुस्ताले गरेको संघर्षलाई नकारात्मक रूपमा चित्रण गर्नु उचित नहुने उनको भनाइ छ ।
“लोकतन्त्रमा सत्ता अस्थायी हुन्छ तर जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुन्छ,” देउवाले भनेका छन् । उनले जनताको इच्छालाई सर्वोच्च मान्दै जनादेश र लोकतन्त्रलाई दिशा दिने प्रत्येक आवाजको सम्मान गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वर्तमान सरकारको मुख्य दायित्व जनतामा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु रहेको देउवाको भनाइ छ । राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्नुपर्ने उनले बताए । ताजा जनमतबाट सत्तामा पुगेको दलले जनताको मतको कदर गर्न नसके लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने मान्यता कमजोर हुने उनको चेतावनी छ ।
देउवाले परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न कांग्रेस तयार रहेको पनि बताएका छन् । तर परिवर्तन अन्धाधुन्ध नभई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।
नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै देउवाले पार्टी एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।
वर्तमान संविधान लामो राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै देउवाले संविधानको संरक्षण गर्नुपर्ने र संशोधन आवश्यक भए राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने धारणा राखेका छन् ।
संसद्को अंकगणितमा कांग्रेसको आकार सानो–ठूलो भए पनि २००७ सालदेखि मुलुकका राजनीतिक परिवर्तनका हरेक चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले बताए । पार्टीभित्रको विवादले मुलुकको राष्ट्रियतामै असर पर्न सक्ने भन्दै उनले नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई सामूहिक भावनाका साथ अघि बढ्न अपिल गरेका छन् ।
युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने भए पनि पाका र अनुभवी सबै खराब हुन् भन्ने भाष्य निर्माण गर्न नहुने देउवाको भनाइ छ । सामाजिक सञ्जालमा भ्युजको पछाडि लाग्नुभन्दा पार्टी र मुलुकप्रतिको दायित्वलाई प्राथमिकता दिन उनले कांग्रेसका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै देउवाले विगतमा माओवादी सशस्त्र द्वन्द्वदेखि विभिन्न जटिल राजनीतिक घटनाक्रम तथा कांग्रेसभित्रका विवाद समाधानमा आफूले खेलेको भूमिकाको अनुभव आगामी दिनमा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताए ।
“यदि हामी कतै विचलित भएका छौँ भने सुधार गर्नेछौँ, यदि कतै चुक्यौँ भने पुनः उठ्नेछौँ,” उनले भनेका छन् । उनले कांग्रेसको यात्रा निरन्तर सुधारको यात्रा हुने र तराईदेखि हिमालसम्मका नागरिकका सुझाव, अपेक्षा र आकांक्षाले त्यसलाई मार्गदर्शन गर्ने बताए ।
देउवाले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने आह्वान गरेको स्मरण गर्दै अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताए ।
“आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ । प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ,” देउवाले अपिल गरेका छन् ।
आफूले सार्वजनिक जीवनमा रहँदा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोच्च मानेर काम गरेको दाबी गर्दै उनले कानुन र नीतिविपरीत कुनै काम नगरेको बताएका छन् । आफ्नो जीवन खुला किताब भएको उल्लेख गर्दै देउवाले जीवन रहुञ्जेल राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधान, कानुन, नैतिकता र जनताको सर्वोत्तम हितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।










