१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा
अ अ+ अ-

झापा । झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो ।

सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको विकास गराउनसमेत सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद उपहार थालिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्केरी अवस्थामा पोषिलो खानेकुरा आवश्यक पर्छ, तसर्थ हामीले यस्तो अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि जसले महीनामा जति रुपैयाँ बचत गर्नुहुन्छ त्यत्तिनै रुपैयाँ सहकारीबाट दिन्छौँ ।”

उहाँका अनुसार सहकारीमा आबद्ध महिलाहरुले सुत्केरी हुँदा न्यूनतम ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म उपहार पाएका छन् । अध्यक्ष दङ्गालले भन्नुभयो, “‘महीनामा ५०० बचत गर्ने महिलाले सुत्केरी हुँदा ५०० रुपैयाँ पाउनुहुन्छ भने मासिक पाँच हजार रुपैयाँ जम्मा गर्ने महिलाले सुत्केरी हुँदा पाँच हजार रुपैयाँ नै पाउनुहुन्छ ।”

सहकारीले योसँगै नवजात शिशुको निःशुल्क खाता खोल्दै ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दङ्गालको भनाइ छ । आव २०७५/७६ मा सहकारीमा आबद्ध ४१ महिला सुत्केरी भएको र उनीहरुलाई ७७ हजार रुपैयाँ सहकारीले सुत्केरी सुविधा प्रदान गरेको छ । त्यस्तै ४१ नवजात शिशुको निःशुल्क खाता खोल्दै ४९ हजार ५०० रुपैयाँ बचत गरिदिएको अध्यक्ष दङ्गालले बताउनुभयो ।

त्यसो त कुनै पनि गर्भवती महिलाको स्वास्थ्य संस्थामा प्रसूति गराए सरकारले प्रोत्साहनस्वरूप आर्थिक सहयोग गर्ने गरेको छ । तर सहकारीले समेत आफ्ना शेयर सदस्यका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपछि ग्रामीणदेखि सहरसम्मका महिलालाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ ।

सहकारीमा आबद्ध सदस्यको मृत्यु भएमा समेत सहकारीले ऋण मिनाहा गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताउनुभयो । आव २०७५÷७६ मा सहकारीमा आबद्ध पाँच जनाको निधन हुँदा चार लाख २८ हजार ५९७ रुपैयाँ ऋण मिनाहा भएको अध्यक्ष दङ्गालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कनकाई नगरपालिका–७ निवासी पूजा दाहाल सापकोटाको श्रीमान्को निधन हुँदा रु एक लाख १४ हजार ८४५ ऋण मिनाहा भएको छ । त्यस्तै कनकाई–३ कै आशिवा खातुनको श्रीमान्को निधन हुँदा रु एक लाख ७५ हजार ऋण मिनाहा गरिएको छ ।”

सहकारीले उनीहरुजस्तै विर्तामोड–५ निवासी लीला सिंहको श्रीमान्को निधन हुँदा रु ४३ हजार ७१०, भद्रपुर–७ निवासी भोटलाल गणेशकी श्रीमतीको निधन हुँदा रु ६९ हजार ५२३ र शिवसताक्षी–११ का चोले मेचेकी श्रीमतीको निधन हुँदा रु २५ हजार ४९७ ऋण मिनाहा गरेको बताइएको छ ।

जिल्लामा सञ्चालित अधिकांश सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्तैखाले विभिन्न कार्यक्रम सञ्चालन गर्दा विपन्न समुदायका महिलालाई सबैभन्दा बढी फाइदा पुग्ने गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “झापाका सबैजसो महिला कुनै न कुनै सहकारीमा आबद्ध छन् । यसबाट उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहकारीबाट सेवा लिएका छन् ।”

यता विर्तामोड नगरपालिकाभित्रै रहेको अर्को एक सहकारीले विर्तामोड नगरभित्र भित्रिएका नव दुलहीलाई रु एक हजार उपहार प्रदान गर्दै आएको छ । तर, दुलाहा वा उनको परिवार विर्तामोडमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएको हुनुपर्छ । सहकारीमा सबै दुलहीलाई आबद्ध गराउँदै स्वावलम्बी बनाउन सहकारीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ ।

विवाहमा हुने फजुल खर्चलाई घटाउँदै बचत गर्ने बानीको विकासका लागि सहकारीले नव दुलहीलाई सहकारीमा निःशुल्क खाता खोल्दै एक हजार रुपैयाँ बचत गर्ने कार्यक्रम अघि सारेको सहकारीका अध्यक्ष डम्बर विमलीले बताउनुभयो । त्यस्तै सहकारीमा आबद्ध शेयर सदस्य भएका घरभित्र सुत्केरी भएका नाबालकको नाममा निःशुल्क खाता खोल्दै एक हजार रुपैयाँ जम्मा गर्ने कार्यक्रमसमेत सहकारीले शुरु गरेको अध्यक्ष विमलीको भनाइ छ । यसबाट बालबालिकाको भविश्य सुरक्षित हुने र बचत गर्ने बानीको विकासले भावी दिनमा फाइदा पुग्ने सहकारीले लक्ष्य लिएको विमलीले बताउनुभयो ।