२८ श्रावण २०८३, बिहीबार
,
Latest
शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा स्वदेश फर्किएलगत्तै देउवाले भने: शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन तीन तहको कार्ययोजना बनाउन निर्देशन स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविपरीत : नेपाल मिडिया सोसाइटी



अ+ अ-

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ।

सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा पत्रकारले प्रकाशित गरेको समाचारका विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्ने उल्लेख गरिएको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको सोसाइटीको ठहर छ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको सोसाइटीले जनाएको छ। समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्ने वा अनुसन्धानका नाममा त्रसित बनाउने कार्यले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने तथा पत्रकारलाई निर्भीक रूपमा समाचार सम्प्रेषण गर्न निरुत्साहित गर्ने सोसाइटीको भनाइ छ।

नेपाल मिडिया सोसाइटीले पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा आफू स्पष्ट रहेको जनाएको छ। तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने सोसाइटीले उल्लेख गरेको छ।

सोसाइटीले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति नेपाल मिडिया सोसाइटी सदैव सचेत, प्रतिबद्ध र खबरदारीमा रहने विज्ञप्तिमा उल्लेख छ।




भर्खरै