२८ श्रावण २०८३, बिहीबार
,
Latest
शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा स्वदेश फर्किएलगत्तै देउवाले भने: शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन तीन तहको कार्ययोजना बनाउन निर्देशन स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे



अ+ अ-

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल तथा सरोकारवालाको साझा दृष्टिकोण हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले परराष्ट्र मामिलामा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पाण्डेले सबै राजनीतिक दल र कूटनीतिका अध्येतालाई एउटै मञ्चमा राखेर नेपालको निश्चित परराष्ट्र नीति तय गर्नुपर्ने प्रस्ताव गर्नुभयो । उहाँले परराष्ट्र नीतिका विषयमा जनस्तरमा व्यापक बहस हुने गरे पनि कूटनीतिका प्राविधिक पक्ष र कार्यविधिबारे पर्याप्त बुझाइ नरहेको बताउनुभयो ।

“हाम्रो विदेश नीतिमा एक विचार र एक दृष्टिकोण हुनुपर्छ भनेर हामी सबै फोरममा भन्छौँ । तर हामी किन त्यसो गर्न सकिरहेका छैनौँ भन्ने विषयमा पनि गम्भीर अध्ययन हुनुपर्छ,” उहाँले भन्नुभयो, “सबै राजनीतिक दल र कूटनीतिका अध्येतालाई एउटै फोरममा राखेर अबको नेपालको परराष्ट्र नीति कस्तो हुने भन्नेमा साझा दृष्टिकोण तय गर्न आवश्यक छ ।”

नेपालको कूटनीतिक क्षमता विकासका लागि आर्थिक कूटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न पक्षमा अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) लाई थप सुदृढ बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

पाण्डेले राजदूत नियुक्ति प्रक्रियालाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताउँदै सम्बन्धित मुलुकको संस्कृति, राजनीतिक प्रणाली, मूल्य–मान्यता, अर्थतन्त्र तथा वैदेशिक सम्बन्धबारे पर्याप्त ज्ञान भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभयो ।

“हामीले राजदूत पठाउने मुलुकहरूको संस्कृति, राजनीतिक प्रणाली, मूल्य–मान्यता, अर्थतन्त्र र उनीहरूको विदेश सम्बन्धबारे सम्बन्धित व्यक्तिलाई पर्याप्त ज्ञान र अध्ययन हुनुपर्छ,” उहाँले भन्नुभयो ।

आर्थिक कूटनीति र अन्य कूटनीतिक भूमिकालाई प्रभावकारी बनाउन योग्य तथा विषयविज्ञ व्यक्तिको चयन आवश्यक रहेको उहाँले बताउनुभयो । यसअघि परराष्ट्र मामिलासम्बन्धी विभिन्न समिति गठन गरी सुधारका प्रयास भए पनि कूटनीतिक नियुक्ति र कार्यसम्पादनलाई अझ व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो ।




भर्खरै