७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चीन उदयको अन्तर्य

चीन उदयको अन्तर्य
अ+ अ-

रमेश केसी

नयाँ शीतयुद्ध ? हो, चीन र अमेरिकाबीच अहिले व्यापार र प्रविधिको विषयलाई लिएर नयाँ शीतयुद्ध चलिरहेको छ । पहिलेको जस्तो यो शीतयुद्ध वैचारिक छैन । दोस्रो विश्वयुद्धपछि पुँजीवादी अमेरिका र साम्यवादी सोभियत संघबीच चलेको शीतयुद्धले सन् १९६२ मा क्युबा मिसाइल संकटको बेला विश्व ध्वस्त हुने भय थियो । तर त्यो टर्‍यो ।

के अमेरिका र चीनबीच पनि त्यस्तै संकट आउन सक्छ ? अहिले प्रविधि र व्यापारमा देखिएको द्वन्द्वपछि सैन्य तनावको रूपमा पनि प्रकट हुनसक्छ भनेर अन्तर्राष्ट्रिय मामलाका जानकारहरू बताउँदैछन् । अहिले जापान र दक्षिण कोरियामा सैन्य अखडा राखेर प्रशान्त शक्ति बनेको छ, अमेरिका । सन् २०३० सम्म अमेरिकाको समकक्षी शक्ति हुने लक्ष्य चीनले राखेको छ ।
यदि यसो भयो भने विश्व व्यवस्थाको अवस्था के हुन्छ ? के विश्वशक्ति एसियातर्फ सरेर अमेरिका–युरोप क्षयतर्फ जाने छ ? अहिलेको यो पेचिलो प्रश्न हो । अमेरिकी भूराजनीतिका विशेषज्ञ रोवर्ट काप्लानका अनुसार विश्व राजनीतिमा विचारधाराको युद्धपश्चात भूराजनीति फर्किएको छ । भनिन्छ, उन्नाइसौं शताब्दी बेलायतको थियो । २० औं शताब्दी अमेरिकाको भयो । र एसियाको उदय एक्काइसौं शताब्दीमा विशेष गरेर चीनलाई केन्द्रमा राखेर हुनेछ भनी अर्का विद्वान पराग खन्ना बताउँछन् ।
दोस्रो विश्वयुद्धपछि अमेरिकालाई जसरी सोभियत संघले चुनौती दिएको थियो । अहिले त्यस्तै चुनौती चीनले दिनथालेको छ । पात्र र समय परिवर्तन भएका छन् । घटना त्यस्तै छ । सन् १६४८ मा स्थापित पश्चिमा केन्द्रित र त्यसपछि विकसित वेष्टफेलियन विश्व प्रणाली अहिले असान्दर्भिक र अपूरो हुँदै गएको छ । उदारवादको जन्मभूमि युरोपमै अहिले प्रज्ञातन्त्र कमजोर देखिएको छ ।
ब्रेक्जिटसँगै युरोपीयन युनियन सङ्कटमा फँसेको छ । जातिवाद, लोकप्रियतावाद र आप्रवासी घृणा संसारको नाइके मानिएको अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पका बोली–वचनमै देखिन्छ । पश्चिम अघिल्लो शीतयुद्ध जस्तो एकजुट छैन । उनीहरू आत्मकेन्द्रित भइरहेका छन् । सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरेपछि भएको सम्बन्ध सुधारबाट उत्साहित चीनले विगत ५० वर्षमा आश्चर्यजनक उपलब्धिहरू हासिल गरेको छ ।
तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरबाट भएको यस पहलबाट आफू साम्यवादी हुँदाहुँदै तत्कालीन सोभियत संघ गठबन्धनमा नजाने सहमतिपछि अमेरिकासँग चीनको सम्बन्ध कायम भएको थियो । यो पिङपङ कूटनीतिपश्चात अन्तर्मुखी चीनले पश्चिमसँग प्रविधि र व्यापारमार्फत आफ्नो सुधार कार्यक्रम अगाडि बढायो । देङको चिनियाँ चरित्रको समाजवादसँंगै शास्त्रीय साम्यवाद त्यागी राज्य पुँजीवाद लागू गरेर विगतका दशकमा चीनले ७० कडोर जनतालाई गरिबीबाट मुक्त तुल्यायो ।
आधा औद्योगिकीकरण गर्‍यो । अब ऊ विज्ञान र प्रविधिको क्षेत्रमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । हरेक वर्ष हुने सैन्य खर्च अमेरिकाभन्दा चीनको कम छ । तत्कालमा चीन कसैसँंग पनि युद्ध चाहँदैन । तर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनले स्थापित शक्तिलाई उदाउँदो शक्तिले चुनौती दिनथालेपछि त्यहाँ स्वतः युद्ध हुने सिद्धान्त थुसिडेडिस ट्रापको अविष्कार गरेका छन् ।
प्राचीन ग्रीकका इतिहासकार थुसिडेडिसले कसरी एथेन्स र स्पाटा स्थापित र उदाउँदो शक्ति हुँदा युद्धमा गए भन्ने उदाहरण पेस गरेका छन् । त्यसरी स्थापित शक्ति अमेरिका र उदाउँदो शक्ति चीनबीच पनि त्यस्तै युद्ध हुने संकेत उनले गरेका छन् । पहिलो र दोस्रो विश्वयुद्धपछि संसारमा ठूला द्वन्द्व भएका छैनन् । तर त्यस्तो द्वन्द्व यी दुई राष्ट्रबीच हुनसक्ने अनेकौं सम्भावना छन् ।
अन्तर्राष्ट्रिय रणनीतिक मामलाका केही जानकारहरू अमेरिकालाई चीनले युद्धबिना विस्थापित गर्न नसक्ने मत राख्छन् । चिनियाँहरू भने आफ्नो राष्ट्रको उदय दोस्रो विश्वयुद्धताका भएको जर्मनी र जापानको जस्तो हिंसात्मक नहुने बताउँदै आएका छन् । बेलायतबाट विश्व व्यवस्था सन् १९४५ मा हातमा लिएको अमेरिका त्यति सजिलै यो नेतृत्व अरुलाई सुम्पन चाहँदैन । सन्तुलन मिलाउन अहिले उसको नजर भारत, जापान, दक्षिण कोरिया र अष्ट्रेलियामाथि छ ।
यी राष्ट्रहरूलाई एक गरेर ‘इन्डो प्यासिफिक’ रणनीति अन्तर्गत चीनलाई रोक्न चाहन्छ । तर चीन भने बेल्ट र रोड अभियानमार्फत एसिया, युरोप र अफ्रिकामा आफ्नो प्रभाव बढाउन लागिपरेको छ । यी दुई योजनाले अमेरिका र चीनलाई आमने–सामने बनाएका छन् । सात दशकसम्म विश्वको नेतृत्व लिएको अमेरिका अहिले पनि संसारको सबैभन्दा ठूलो र शक्तिशाली सैन्यशक्ति हो । तर आज संसारमा उसलाई चुनौती दिने शक्ति हरेक क्षेत्रमा चीन नै हो ।
करिब १ अर्ब ४० करोड जनसंख्या र १४ राष्ट्रहरू रूस, मध्यएसिया, पूर्वी र दक्षिण एसियासँग सिमाना गाँसिएको चीनको शक्तिमा भूगोलको आफ्नै रणनीतिक महत्त्व छ । यदि चीन विश्वको नेता बन्न चाहन्छ भने उसको त्यो अधिकार भएको सिङ्गापुरका नेता ली क्वान युले बताएका थिए । तर उपनिवेश, साम्राज्य र विश्वव्यापीकरणमार्फत जसरी युरोपीकरण र अमेरिकीकरण विगत चार सय वर्षमा भयो त्यस्तो चिनियाँकरण हुन असम्भव देखिन्छ ।
किनकि चीनको कुन्फुसियाली संस्कृति र एक पार्टी शासन व्यवस्था विश्वका अरु राष्ट्रहरूलाई नसुहाउने हुनसक्छ । नयाँ शीतयुद्ध भनिए पनि आजको चीन सोभियत संघजस्तो होइन । चीनको मनोविज्ञान के छ भने ऊ आफूलाई ५ हजार वर्षदेखिको शक्ति मान्दछ । आफू संसारको केन्द्रमा रहेको मध्य अधिराज्यको ग्रन्थि उसमा छ । चीनमा अहिले राष्ट्रवादको भावना बढ्दो छ ।
चिनियाँ शासकहरू आफ्नो राष्ट्रलाई महान बनाउने अभिव्यक्ति दिन्छन् । देङले आफ्नो शक्ति लुकाउ भन्थे, तर आजको चीन आफ्नो शक्ति प्रदर्शन गर्ने र त्यससँग खेल्ने अवस्था छ । चार सय वर्षयता विश्वलाई विकास र आधुनिकीकरण गरिरहेको पश्चिमको अन्त्य त्यति सजिलो त छैन । तर त्यसका संकेतहरू देखिरहेका छन् । यहुदी, इसाई जातिको वर्चस्व भएको विश्वमा हान जातिले त्यसलाई चुनौती भने दिएकै हो ।
एक्काइसौं शताब्दी विशेष गरेर एसियाका लागि महत्त्वपूर्ण हुनेछ । यो महत्त्व यहाँ हुने भूराजनीतिक सन्तुलनको हेरफेर, आर्थिक वृद्धि र विज्ञान प्रविधिको फैलावटका कारणले हुनेछ । जसको केन्द्रमा चीन हुनेछ । अहिले नै एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र बनेको चीनका लागि बाधाको रूपमा अमेरिका देखिएको छ । यी दुईबीच दक्षिणी चीन समुद्रको भूभाग, ताइवान प्रश्न तिब्बत स्वतन्त्रताको मुद्दामा द्वन्द्व हुनसक्छ ।
तर यी द्वन्द्वहरूलाई मिलाउन सकिने सम्भावना भएको टिप्पणीकार बताउँछन् । १७ औं शताब्दीमा विश्वको ठूलो आर्थिक शक्ति र विकसित राष्ट्र चीन अहिले आफ्नो सही स्थानको खोजीमा छ । जुन स्थान प्राप्त गर्न उसले धेरै मूल्य चुकाएको छ । तर त्यो स्थान पश्चिमाहरूको विश्व व्यवस्था विस्थापित गरेर आफू स्थापित हुने हो वा के हुने हो, त्योचाहिँ भविष्यले नै बताउँछ ।

(कान्तिपुर दैनिकबाट साभार)