काठमाडौं । व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ।
मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। त्यसअघि अदालतमा उनको बकपत्र गराइएको थियो।
गोल्छा मंगलबार आफैं अदालतमा उपस्थित भएका थिए। सम्पत्ति शुद्धीकरण मुद्दामा यसअघि पनि उनी एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
यसअघि १२ साउनमा काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी गोल्छासँग कुल एक करोड रुपैयाँ धरौटी माग गरेको थियो।











