काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले लिपुलेक लगायतका सीमा विवाद, राष्ट्रिय सार्वभौमसत्ता र जनजीविकासँग जोडिएका विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउँदै सीमा विवाद समाधानका लागि सरकारले ठोस पहल गर्नुपर्ने बताउनुभयो ।
भारतद्वारा अतिक्रमित नेपाली भूभाग तथा लिपुलेक मार्ग भारत र चीनले प्रयोग गरिरहेको विषयमा सरकार र सत्तारूढ दलहरूको मौनतामाथि प्रश्न उठाउँदै उहाँले संसदमा नेपालको आधिकारिक धारणा स्पष्ट पार्न माग गर्नुभयो । नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ बनाउने नीति लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारसँग सीमा समस्याको समाधानका लागि स्पष्ट कूटनीतिक मार्गचित्र प्रस्तुत गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
सांसद गिरीले भन्नुभयो, “राष्ट्रिय सार्वभौमसत्ता र स्पष्ट विदेश नीति आजको मुख्य विषय हो । भारतले नेपाली भूभाग मिचेको विषयमा सरकारले स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ । विशेषगरी लिपुलेक मार्ग भारत र चीनले प्रयोग गरिरहेको सन्दर्भमा नेपालको दृष्टिकोण के हो भन्ने कुरा संसदलाई स्पष्ट जानकारी गराइनुपर्छ ।”
सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले सुरक्षाका नाममा अनावश्यक चेकजाँच तथा त्रासको वातावरण सामना गर्नुपरेको भन्दै उहाँले त्यस्तो अवस्था अन्त्य गर्न सरकारसँग माग गर्नुभयो । नेपाल–भारतबीचको ऐतिहासिक सामाजिक तथा सांस्कृतिक ‘रोटी–बेटी’ सम्बन्धलाई ध्यानमा राख्दै दैनिक उपभोग्य वस्तु, मलखादलगायत सामग्री ल्याउन सर्वसाधारणले पाउँदै आएका सुविधामा अनावश्यक कटौती नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार, अवैध असुली तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्न सरकार र संसदले तत्काल ठोस कदम चाल्नुपर्ने उहाँको भनाइ थियो ।
आर्थिक तथा सामाजिक विषयमा बोल्दै सांसद गिरीले गरिबी निवारण र साना व्यवसायीको संरक्षणका लागि सरकारले अघि सारेका योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी माग गर्नुभयो । साना तथा घरेलु व्यवसायीलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्ने अवसर दिनुका साथै बिना धितो सहुलियत ऋण उपलब्ध गराउने सरकारको योजना कहाँ पुगेको छ भन्ने प्रश्न उहाँले गर्नुभयो ।
किसानलाई समयमै मल, बीउ तथा औषधि उपलब्ध गराउन सरकार असफल भएको आरोप लगाउँदै गिरीले कृषि क्षेत्रका समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा प्रणालीलाई सीपमूलक र रोजगारमुखी बनाउँदै ‘पढ्दै कमाउने’ अवधारणा देशभर लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा जनशक्तिको विदेश पलायन रोक्न नेपालमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने भन्दै उहाँले युवालाई देशमै भविष्य देख्न सक्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।











