१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्क बनाउँदै प्राधिकरण



अ+ अ-

काठमाडौं । नेपाल भूकम्पीय जोखिम भएका देशमध्ये ११ औं नम्बरमा पर्छ। नेपालका जिल्लामध्ये बढी जोखिममा छ– काठमाडौं। जमिनको भारवहन क्षमताभन्दा बढी भवन निर्माण भइरहेको विज्ञहरू बताउँछन्। काठमाडौं महानगरपालिकामा जनसंख्या र भवनको अत्यधिक चापले गर्दा विपद्का बेला भाग्ने ठाउँसम्म छैन। ०७२ सालको भूकम्पपछि खाली जमिन राख्ने धेरै बहस भए पनि काममा भने तदारुकता देखिएन।

तर, अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली जमिन संरक्षण गर्न सुरु गरेको छ । संरक्षण गरिएको जमिनमा पार्क बनाउने कार्य सुरु भएको हो। प्राधिकरणअन्तर्गत काठमाडौं जिल्लाका सूचना अधिकारी सुरेश रेग्मीले स्थानीय तहबाट आएको प्रस्तावबाट जमिनको अवस्था हेरी संरक्षण भइरहेको बताए। रेग्मीका अनुसार अहिले खुला ठाउँको संरक्षण गर्ने र आधारभूत संरचना बनाइरहेको छ। ‘दुई किसिमले काम भइरहेको छ,’ उनले भने, ‘पार्क बनाउने र विपद्मा बस्न सक्ने ठाउँको संरक्षण भइरहेको छ।’

उपत्यका विकास प्राधिकरणका सहरी योजनाकार भगवतभक्त खोकालीले अहिले कतिपय खुला ठाउँ अतिक्रमण भइरहेको स्विकारे। ‘अहिले त्यस्ता खुला ठाउँमा स्थानीयले भाडा लगाएर खाइरहेको अवस्था छ,’ उनले भने, ‘उक्त ठाउँ सार्वजनिक प्रयोगका लागि काम गर्ने हो भनेर प्राधिकरणले काम अगाडि बढाएको हो।’ सार्वजनिक जमिन भाडा लगाउन नदिने नीति लिएको उनले बताए। त्यस्ता खाली रहेका ठाउँमा पार्क बनाउने र ओपन ग्राउन्ड बनाउने योजना रहेको उनी बताउँछन्। त्यति गर्न नसकिएमा काठमाडौंमा बस्ने मान्छेको ‘क्वालिटी अफ लाइफ मेन्टेन’ नहुने उनको तर्क छ। प्राधिकरणले विभिन्न ठाउँमा भएका सार्वजनिक जमिन पहिचान गरी संरक्षण गर्दै आएको छ।

काठमाडौं जिल्लाका मुख्य विकास आयुक्त दिलीप भण्डारीले पहिचान भएका क्षेत्रमा वडासँग समन्वय गरेर काम भइरहेको बताए। ‘पार्कसँगै क्रमशः हामी विपद व्यवस्थापनका लागि पनि सार्वजनिक जग्गामा काम गरिरहेका छौँ,’ उनले भने, ‘यस आर्थिक वर्षमा धेरै ठाउँमा काम गरिरहेका छौँ।’

अहिले प्राधिकरणले करिब १० वटाजति प्रोजेक्ट बनाएर काम गरिरहेको छ। यस वर्ष कागेश्वरी मनोहरा–८ को मूलपानी, काठमाडौं महानगर–५ मा लाखेपोखरी पार्क, शंखरापुर–५ को कलश पोखरी संरक्षण गर्न अहिले प्राधिकरणले २ करोड ६० लाखमा ठेक्का लगाएको छ। त्यस्तै, बूढानीलकण्ठको कालिका पार्क, जगन्नाथ मन्दिर, भूकम्प स्मृति पार्क, नरेफाँट र खुसिबुमा पार्क निर्माणका लागि प्राधिकरणले ७ करोडमा ठेक्का लगाएको छ। त्यस्तै, महानगरको रुद्रेश्वर मन्दिर, तारेकेश्वरको सिमलेश्वर, नागार्जुनको गणेशमान स्मृतिपार्कलगायत काम गर्न एक करोड १० लाखमा ठेक्का लगाएको छ।

यसबाहेक पनि कागेश्वरी मनोहराको खुर्सानीबारी, महानगरको नमोबुद्ध विहार, हाँडीगाउँ, बाग्मती किनार, न्याकिति मन्दिर, चन्द्रागिरि नगरपालिकाको विन्ध्यवासिनी मन्दिर आसपासको जमिन, नागार्जुनको रामकोट घटाल बाबा मन्दिरको जमिन पनि संरक्षण गर्न सुरु गरेको छ। अहिले करिब ४० ठाउँमा काम भइरहेकोे कार्यालयका इन्जिनियर रवि शर्माले बताए। उनका अनुसार १६ ठाउँमा काम भइरहेको छ। काठमाडौंमा ४० ठाउँमा जमिन संरक्षणको काम भइरहेको उनले बताए। भने, ‘महत्त्वपूर्ण ठाउँमा डिजाइनसहित काम गरिरहेका छौँ।’ अहिले सबैभन्दा धेरै बूढानीलकण्ठ नगरपालिकामा भइरहेको उनले बताए।

प्राधिकरणले काठमाडौं जिल्लाअन्तर्गत मात्रै करिब २० करोड लगानीमा जमिन संरक्षणको काम गरिरहेको छ। संरक्षण गरिएको ठाउँमा वाल लगाउने, पानी र शौचालयको व्यवस्था गर्ने, हरियाली बनाउनेलगायत काम भइरहेको इन्जिनियर शर्माले बताए। संरचना निर्माण गरिसकेपछि प्राधिकरणले पार्क र संरक्षित क्षेत्र स्थानीय निकायमा हस्तान्तरण गर्नेछ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।