२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताउनुभएको छ ।

संघीय संसद्को प्रतिनिधि सभामा सांसदहरुको मौखिक प्रश्नको आज जवाफ दिँदै उहाँले यसका लागि प्रारम्भिक काम अघि बढिसकेको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री खनालका अनुसार हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको छ । भवनको ‘आर्किटेक्चरल ड्रइङ’, ‘डिजाइन’ तथा इन्जिनियरिङसम्बन्धी कार्यका लागि परामर्शदाता छनोट भइसकेको र प्रारम्भिक ‘डिजाइन’ समेत तयार भएको उहाँले बताउनुभयो ।

मन्त्री खनालले भन्नुभयो “भवनको आर्किटेक्चरल ड्रइङ र डिजाइन बारे मन्त्रालयमा छलफल भई स्वीकृतिको चरणमा रहेको छ ।” उहाँका अनुसार आर्थिक वर्ष २०८३÷८४ मा परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा निर्माणका लागि बोलपत्र आह्वान गरी निर्माण प्रारम्भ गरिने उहाँले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री खनालले मन्त्रालय विभिन्न समयमा प्रशासनिक आवश्यकता, भवनको उपलब्धता तथा संरचनागत व्यवस्थापनका कारण स्थानान्तरण हुँदै आए पनि ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै आएको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाल सरकार पक्ष रहेको सन्धि तथा सम्झौताको संरक्षण र व्यवस्थापनका लागि कानुनी व्यवस्था रहेको बताउनुभयो । नेपाल सन्धि ऐन, २०४७ अनुसार परराष्ट्र मन्त्रालयले नेपाल सरकारका तर्फबाट सन्धि, वार्ता, कूटनीतिक सम्पर्क तथा अन्तर्राष्ट्रिय तहमा सन्धिसम्बन्धी कार्य सम्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, नेपाल सरकार (कार्यविभाजन) नियमावलीअनुसार सन्धि, सम्झौता तथा तिनका अभिलेखसम्बन्धी कार्य कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्रमा पर्ने र राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेजको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय अभिलेखालयलाई दिइएको मन्त्री खनालले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजको खोज, प्रमाणीकरण, डिजिटलीकरण र सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। यसका लागि मन्त्रालयमा छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरी काम अघि बढाइएको पनि उहाँले बताउनुभयो ।

मन्त्री खनालले नेपालले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग गरेका पुराना सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन तथा नवीकरण क्रमशः गरिने बताउनुभएको छ। संविधानको धारा ५३ बमोजिम प्रस्तुत प्रगति प्रतिवेदनमा नेपालका छिमेकीलगायत मित्रराष्ट्रसँग ४१२ द्विपक्षीय तथा क्षेत्रीय संघसंस्था र अन्य पक्षसँग २४३ बहुपक्षीय गरी कुल ६५५ सन्धि–सम्झौता रहेको उल्लेख छ ।

तीमध्ये हालसम्म ५५ सन्धि–सम्झौता सम्पन्न वा परिमार्जन भइसकेका छन्। बाँकी ६०० सन्धि–सम्झौता आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन, परिमार्जन तथा नवीकरण गर्ने सरकारको नीति रहेको मन्त्री खनालले बताउनुभयो। सन्धि–सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य र सहमति गर्दै नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी उपयुक्त समयमा हुने उहाँको भनाइ छ।

अन्तर्राष्ट्रिय कानून र कूटनीतिक प्रचलनअनुसार द्विपक्षीय वा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन तथा नवीकरण सम्बन्धित पक्ष राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर हुने उहाँले स्पष्ट पार्नुभयो ।