काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा पार्टीकै नेताहरू तथा कार्यकर्ताबीच भइरहेका टीका–टिप्पणीप्रति चिन्ता व्यक्त गरेका छन्।
खड्काले सामाजिक सञ्जालमार्फत देशको राष्ट्रियता संकटपूर्ण अवस्थामा रहेको, लोकतान्त्रिक संविधानमाथि चुनौती उत्पन्न भएको तथा कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको भन्दै अहिलेको पहिलो आवश्यकता पार्टीको सम्पूर्ण एकता भएको बताएका छन्।
उनले पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्।
खड्काले पार्टीका जिम्मेवार नेताहरूले व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ पार्टी एकताका लागि निर्णायक पहल गर्नुपर्ने बताएका छन्।
उनले कांग्रेस सभापति गगन थापालाई विशेष आग्रह गर्दै पार्टी एकताका लागि तत्काल अग्रसर हुन अपिल गरेका छन्। ‘निर्णायक तपाईं हो, तपाईं’ भन्दै खड्काले सभापति थापालाई एकताको वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
पार्टी तथा भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता तथा कार्यकर्तालाई पनि एकताका लागि सहयोग गर्न आग्रह गर्दै खड्काले सामाजिक सञ्जालमा हुने दोहोरी, आरोप–प्रत्यारोप र गालीगलौजको प्रवृत्ति अन्त्य गर्न अपिल गरेका छन्।
उनले राष्ट्रियता, बहुदलीय लोकतन्त्र र पार्टीको अस्तित्व जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ अनि त्यसमा हामी रहने ठाउँ रहन्छ। नभए सबै खरानी हुन्छ।’











