काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धताअनुसार काम गर्न नसके पार्टीले हस्तक्षेप गर्ने बताउनुभएको छ ।

सरकारको कार्यशैली र स्थायित्वबारे टिप्पणी गर्दै सभापति लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका रूपमा त्यसलाई सही मार्गमा ल्याउने क्षमता रास्वपासँग रहेको दाबी गर्नुभयो ।
उहाँले सरकार अहिले नै असफल भइनसकेको भन्दै त्यस्तो अवस्था आउन नदिन आफूहरू सचेत रहेको बताउनुभयो । सरकार सञ्चालनको अवस्थालाई हवाई यात्रासँग तुलना गर्दै लामिछानेले यात्राका क्रममा आउने अस्थायी अवरोधबाट आत्तिन आवश्यक नरहेको उल्लेख गर्नुभयो ।
“सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,” उहाँले भन्नुभयो, “आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ । तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ ।”
सरकार आफ्नो ‘लिक’बाट बाहिरिए पुनः सही दिशामा ल्याएर यात्रालाई सहज बनाउने उहाँको भनाइ थियो ।
लामिछानेले सरकारको यात्रामा कहिलेकाहीँ ‘टर्बुलेन्स’ अर्थात् अस्थायी अवरोध आउन सक्ने भन्दै त्यसलाई लिएर डराउन नहुने बताउनुभयो । “जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन,” उहाँले भन्नुभयो, “त्यसैले–सिट ब्याक एन्ड रिल्याक्स ।”
असल नियत र सही दिशाका साथ सरकारलाई गन्तव्यसम्म सुरक्षित रूपमा पुर्याउने दाबी गर्दै उहाँले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्नुभयो ।
– न्युज एजेन्सी नेपाल
न्यूजपोलार
२४ श्रावण २०८३, आईतवार १२:४२
न्यूजपोलार
२४ श्रावण २०८३, आईतवार १२:४२
२४ श्रावण २०८३, आईतवार १२:४२










