२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा दीर्घकालीन औसत आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहे पनि नीतिगत हस्तक्षेप र लगानी विस्तार भएका केही वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुगेको बताउनुभयो ।

उहाँले अब उच्च आर्थिक वृद्धिका लागि लगानी बढाउनुका साथै नीतिगत सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । विगतमा भएका उदारीकरण, नीतिगत सुधार तथा पुनर्निर्माणमा भएको ठूलो लगानीले आर्थिक वृद्धिलाई गति दिएको उहाँको भनाइ थियो ।

भट्टका अनुसार २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका क्रममा लगानी बढ्दा नेपालले लगातार तीन वर्ष करिब ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । सो अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३० प्रतिशतसम्म पुँजी निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

हाल नेपालको फिक्स्ड क्यापिटल फर्मेसन जीडीपीको करिब २६ प्रतिशत पुगेको उल्लेख गर्दै उहाँले यसअघि लगातार तीन वर्ष उक्त अनुपात करिब २४ प्रतिशतमा सीमित रहेको बताउनुभयो । उच्च आर्थिक वृद्धिका लागि पुँजी निर्माणको दर अझै बढाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले आर्थिक वृद्धिको आधार विस्तार गर्न पुँजी वृद्धि, दक्ष जनशक्ति निर्माण र प्रविधिमा लगानी आवश्यक रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य तथा सीप विकासमा लगानी बढाएर देशभित्रै दक्ष जनशक्तिलाई टिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बढ्दो वैदेशिक पलायन र न्यून जनसंख्या वृद्धिदरका कारण मानव पुँजी निर्माणमा चुनौती देखिएको भन्दै भट्टले देशभित्रै रोजगारी र अवसर सिर्जना गरी दक्ष जनशक्तिलाई टिकाउने नीति आवश्यक रहेको बताउनुभयो ।

नेपालको कुल कारक उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) करिब ०.२ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उहाँले हालको आर्थिक वृद्धिको मुख्य आधार पुँजी र श्रमशक्ति रहेको बताउनुभयो । उत्पादन वृद्धि र उत्पादकत्व बढाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

डिजिटलाइजेसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना भइरहेका अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । प्रविधिले काम गर्ने तरिकामा सुधार ल्याउँदै उत्पादन र कार्यक्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

भट्टले उत्पादकत्व प्रविधि र पुँजीमा मात्र निर्भर नहुने स्पष्ट पार्दै काम गर्ने तरिका, कार्यसंस्कृति, शिक्षा तथा संस्थागत संरचनाले समेत उत्पादकत्वमा महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो ।

उहाँले सुशासन र समृद्धि एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै राम्रो नीति र बलियो संस्थागत संरचनाले उत्पादकत्व तथा प्रतिव्यक्ति आय बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उच्च आर्थिक वृद्धिका लागि प्रभावकारी नीति, बलियो संस्था, बढ्दो लगानी र दक्ष मानव पुँजी निर्माणलाई एकसाथ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।