११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’

‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण सम्भव नहुने बताउनुभएको छ ।

आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै एसएसपी काफ्लेले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीमा जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले सडक अनुशासन उल्लंघनका कारण निर्दोष नागरिकले ज्यान गुमाउने अवस्था अन्त्य गर्न प्रविधिको प्रयोगसँगै सडक पूर्वाधार सुधार र ट्राफिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण रहेको उहाँको भनाइ थियो ।

‘सडकमा सिठी फुकेर मात्र दुर्घटना न्यूनीकरण सम्भव हुँदैन, त्यसैले अब फेसलेस ट्राफिकको अवधारणामा जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘सडक नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्ताको जीवनसमेत जोखिममा पर्ने गरेको छ।’

एसएसपी काफ्लेले सडक सुरक्षा प्रभावकारी बनाउन ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई सँगसँगै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै विद्यालय तहदेखि नै ट्राफिक शिक्षालाई पाठ्यक्रममा समेट्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा विभिन्न विषयमा उच्च तहसम्मको अध्ययन हुने भए पनि ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी विषय विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समेटिन नसकेको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले भने पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत प्रत्येक साता करिब २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पुर्‍याउने गरेको छ । त्यस्तै, प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई सचेतना कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

ट्राफिक नियम उल्लंघन गरेपछि सञ्चालन गरिने सचेतना कक्षाले पनि सकारात्मक परिणाम दिएको उहाँको दाबी छ । यस्ता कक्षामा सहभागी अधिकांशले चालक अनुमतिपत्र लिने समयमै ट्राफिक नियमसम्बन्धी शिक्षा पाएको भए अझ प्रभावकारी हुने उहाँले बताउनुभयो ।

एसएसपी काफ्लेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पार्नुभयो । ट्राफिक प्रहरीले कारबाही गर्दा नागरिकसँग रुखो व्यवहार नगर्न पनि उहाँले निर्देशन दिनुभयो ।

कानुन कार्यान्वयन गराउने क्रममा नम्र भाषा प्रयोग गर्न, नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न र कारबाही प्रक्रियालाई पारदर्शी बनाउन उहाँले ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो । ट्राफिक प्रहरीमाथि आउने आलोचनाको प्रमुख कारण कामभन्दा पनि काम गर्ने शैली र व्यवहार हुने गरेको उहाँको भनाइ थियो ।

सडक दुर्घटनामा केही कमी आए पनि हालको अवस्था सन्तोषजनक नरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा दैनिक औसत आठ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने र करिब ७५ जना गम्भीर घाइते हुने अवस्था छ ।

गत वर्षको तुलनामा सडक दुर्घटनामा करिब २० प्रतिशत कमी आए पनि त्यसलाई पर्याप्त उपलब्धि मान्न नसकिने उहाँले बताउनुभयो । आगामी वर्ष सडक दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।