काठमाडाैँ । बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूबीच भनाभन भएको छ ।
छलफलका क्रममा सांसद डा. अमरेशकुमार सिंहले प्रयोग गर्नुभएको ‘सैन्यीकरण’ शब्दलाई लिएर विवाद उत्पन्न भएको हो । बैठकमा आफ्नो धारणा राख्दै सांसद सिंहले संसदीय समितिमा सांसदहरूले राखेका विचारलाई व्यक्तिगत रूपमा खण्डन गर्ने प्रवृत्तिले समितिको गरिमा र कार्यसम्पादनमा असर पुग्ने बताउनु भयो । उहाँले सांसदहरू सार्वभौम जनताका प्रतिनिधि भएकाले समितिमा आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउनुपर्ने जिकिर गर्नुभयो ।
छलफलका क्रममा सांसद सिंहले आफूले प्रयोग गरेको ‘सैन्यीकरण’ शब्दको बचाउ गर्दै मुलुकमा प्रतिव्यक्ति सुरक्षाकर्मीको सङ्ख्याका आधारमा सो टिप्पणी गरेको स्पष्ट पार्नुभयो । रास्वपाकै सांसद रमेश प्रसाईंले सिंहको भनाइप्रति असहमति जनाएपछि स्थिति केही समय तनावपूर्ण बनेको थियो । सिंहले सभापतिलाई सम्बोधन गर्दै आफूलाई कम नआँक्न र आफ्ना तर्कहरू प्रमाणित गर्न चुनौती समेत दिनुभयो ।
विवाद बढ्दै गएपछि अग्रजसँग माफी चाहन्छु भनेर क्षमायाचना गरेपछि बैठक पुनः शुरु भयो ।











