७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल

सर्पदंशको उपचार ढिलाइ हुँदा ज्यान जोखिममा

सर्पदंशको उपचार ढिलाइ हुँदा ज्यान जोखिममा
अ+ अ-

काठमाडाैँ। मनसुन सुरु भएसँगै नेपालमा सर्पदंशका घटना बढ्दै गएका छन् । बाढी र वर्षाका कारण सर्पको प्राकृतिक बासस्थान डुबानमा पर्दा सर्प घरभित्र पस्नेक्रम बढेको छ ।

यसैबीच उपचारमा ढिलाइ, जनचेतनाको अभाव र स्वास्थ्य पूर्वाधारको कमजोरीका कारण सर्पदंशबाट हुने मृत्यु चिन्ताको विषयका रूपमा रहेको सरोकार भएकाहरूले बताएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी), टेकुका महामारी व्यवस्थापन शाखा प्रमुख डा अमृत पोखरेलले सर्पदंशबाट सबैभन्दा बढी किसान, बालबालिका र महिला प्रभावित हुने गरेका बताउनुभयो । उहाँका अनुसार खेतबारीमा काम गर्ने किसान वर्षायाममा बढी जोखिममा पर्ने गरेका छन् ।

“बालबालिका खेल्ने क्रममा तथा महिला घरआँगन र खेतबारीमा काम गर्दा सर्पदंशको सिकार हुने गरेका छन्”, पोखरेलले भन्नुभयो, “सर्पदंशबाट ज्यान जाने मात्र होइन, समयमै उपचार नपाउँदा कतिपय बिरामी जीवनभर अपाङ्गसमेत हुनुपर्ने अवस्था आउने गरेको छ ।” उहाँले मनसुन अघि र पछि पनि सर्पदंशबाट बच्ने उपायबारे जनचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

“बाढी आउँदा सर्प बस्ने दुलोमा पानी पस्छ, त्यसपछि सर्प सुरक्षित स्थान खोज्दै मानिसका घरभित्र आउने सम्भावना बढ्छ”, डा पोखरेलले भन्नुभयो, “जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप बदलिँदै जाँदा भविष्यमा सर्पदंशका घटना अझ बढ्न सक्ने भएकाले समुदायस्तरमा सचेतना आवश्यक छ ।” उहाँका अनुसार नेपालमा धेरैजसो बिरामीले समयमा उपचार नपाएर ज्यान गुमाउने गरेका छन् ।

सर्पदंशबाट हुने करिब ८० प्रतिशत मृत्यु उपचार केन्द्र पुग्न ढिलाइ भएकै कारण हुने गरेको डा पोखरेलको भनाइ छ । विशेषगरी तराई तथा ग्रामीण क्षेत्रमा अझै पनि सर्पले टोकेपछि अस्पताल जानुभन्दा धामीझाँक्री, झारफुक वा घरेलु उपचारमा विश्वास गर्ने प्रवृत्ति कायमै रहेको भन्दै यो जटिल समस्याका रूपमा चित्रण गर्नुभयो । “टोकेको ठाउँमा कडा डोरी बाँध्ने, विष चुस्ने वा झारफुक गराउनेजस्ता अभ्यासले बिरामीको अवस्था झन् जटिल बनाएको छ”, उहाँले भन्नुभयो ।

विशेषगरी करेत प्रजातिको सर्पले राति सुतिरहेका बेला टोकेमा धेरैजसो पीडा महसुस नहुने र टोकेको दागसमेत स्पष्ट नदेखिने भएकाले बिरामी वा परिवारले समयमै थाहा नपाउने समस्या रहेको डा पोखरेलले बताउनुभयो । यही कारण बिहानसम्म बिरामीको शरीरमा विष फैलिक्ने भएकाले सर्पदंशको शङ्का लागेमा कुनै पनि घरेलु उपचार नगरी तुरुन्त स्वास्थ्य संस्थामा पुर्‍याउन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले सर्पदंशलाई विपद्को एउटा महत्वपूर्ण जोखिमका रूपमा लिएर मनसुनअघि पूर्वतयारी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

उहाँले सर्पको प्राकृतिक बासस्थान, जोखिम क्षेत्र र जलवायु परिवर्तनसँगको सम्बन्धबारे अध्ययन गरी त्यसका आधारमा दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार गत वैशाख १ देखि साउन १९ गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७५७ घटना भएका छन् । ती घटनामा ५७ जनाको मृत्यु भएको छ भने ७०९ जना घाइते भएका उहाँले जानकारी दिनुभयो ।

“विसं २०७३ देखि २०८३ साल (१० वर्ष) को अवधिमा सर्पदंशको एक हजार ६७८ वटा घटना भएका छन्, जसमध्ये ३०१ जनाले ज्यान गुमाएका छन् । एक हजार ४०१ जना घाइते भएका छन् । यसबाट ६४ जिल्ला प्रभावित बनेका छन् । १७ दशमलव ९३ प्रतिशत मृत्युदर रहेको छ”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी मधेस प्रदेश प्रभावित बनेका छन् ।

गत वैशाखयता मधेस प्रदेशमा १२२ सर्पदंशको घटना हुँदा २१ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा १६, कोशीमा नौ, सुदूपश्चिममा सात, कर्णालीमा तीन, बागमती प्रदेशमा एक जानाको मृत्यु भएको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा एन्टिस्नेक भेनमको पर्याप्त उपलब्धता नहुनु, औषधि आयातमा परनिर्भर रहनु तथा अधिकांश अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर सुविधाको अभाव हुनु पनि उपचारमा चुनौती बनेको उहाँको भनाइ छ ।

वन फँडानी, अव्यवस्थित सहरीकरण र प्राकृतिक बासस्थानको विनाशका कारण सर्पको आहारा तथा आश्रय नष्ट हुँदै जाँदा सर्प मानव बस्तीमा पस्नेक्रम बढिरहेको प्राधिकरणका उपसचिव केसीले उल्लेख गर्नुभयो । मुसा, भ्यागुताजस्ता आहारा घट्दै जाँदा सर्प सुरक्षित स्थान र आहाराको खोजीमा घरभित्र पस्ने सम्भावना बढ्ने गरेको विशेषज्ञ बताउँछन् ।

अध्ययनले जुन-जुलाई (असार-साउन) लाई सर्पदंशका दृष्टिले सबैभन्दा जोखिमपूर्ण अवधि औँल्याएको छ । यही अवधिमा देशभर सबैभन्दा धेरै सर्पदंशका घटना हुने गरेका छन् । तथ्याङ्कअनुसार मधेस प्रदेशमा सर्पदंशबाट हुने मृत्युदर १७ दशमलव दुई प्रतिशत रहेको छ, जुन धेरै घटना भएका अन्य प्रदेशको तुलनामा दुईदेखि चार गुणासम्म बढी हो ।

त्यसैगरी कञ्चनपुर, कैलाली र पाल्पा जिल्लामा एन्टिभेनम (सर्पदंशविरुद्धको विषनाशक औषधि) को पर्याप्त आपूर्तिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता अध्ययनले औँल्याएको छ । अध्ययनअनुसार बालबालिकामा सर्पदंशबाट हुने मृत्युदर वयस्कको तुलनामा बढी रहेकाले उनीहरूको संरक्षण, समयमै उपचार र जनचेतनामा विशेष जोड दिनुपर्ने देखिएको छ ।

नेपालमा गोमन, राजगोमन,  करेत,  ठूलो कालो करेत, सानो कालो करेत, ब्यान्डेड करेत, रसेल्स भाइपर, मोनोकल्ड कोब्रालगायत विशालु प्रजातिका सर्प पाइन्छन् । सर्पदंशबाट बच्न रातिको समयमा टर्चको प्रयोग गर्ने, खेतबारी तथा झाडीमा काम गर्दा बुट र लामो कपडा लगाउने, घर वरिपरिका झाडी सफा राख्ने, मुसा नियन्त्रण गर्ने तथा भुइँमा सुत्नुभन्दा खाटमा सुत्ने बानी बसाल्न पनि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सुझाव दिएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार नेपालमा सर्पदंश अझै पनि ग्रामीण क्षेत्रमा एउटा प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ । उपचारमा ढिलाइ, अन्धविश्वास र स्वास्थ्य सेवामा ढिलो पहुँचका कारण धेरै बिरामीले ज्यान गुमाउने गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मनसुनको समयमा खेतबारी र ग्रामीण बस्तीमा सर्पसँगको मानवीय सम्पर्क बढ्ने भएकाले स्वास्थ्य मन्त्रालयले सचेत रहन, सही जानकारी फैलाउन र सर्पदंशलाई सामान्य रूपमा नलिन सबैमा आग्रह गरेको छ । रासस