काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले मधेशमा देखिएको धार्मिक तथा सामाजिक तनावप्रति सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले मधेशमा विकसित भइरहेको धार्मिक तथा सामाजिक तनाव कुनै आकस्मिक घटना नभई सत्ताधारी दलका नेताहरूका अभिव्यक्ति र गृहमन्त्रीले धार्मिक संघ–संस्थासँग गरेको अपारदर्शी सहमतिका कारण परिस्थिति थप जटिल बनेको बताएका छन्।
उनले संवेदनशील धार्मिक विषयमा दीर्घकालीन समाधान खोज्नुको सट्टा राजनीतिक लाभ–हानिलाई केन्द्रमा राखेर सहमति गर्ने र उत्तेजक अभिव्यक्ति दिने प्रवृत्तिले सामाजिक सद्भावमा नकारात्मक असर परेको उल्लेख गरेका छन्।
आचार्यले राज्यको प्रमुख दायित्व शान्ति, सद्भाव र विधिको शासन कायम गर्नु भएको स्मरण गराउँदै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप समेत लगाएका छन्। अशान्ति फैलाउने तत्त्वलाई प्रश्रय पुग्ने गतिविधि भइरहेको भन्दै उनले यसले सरकार र सत्ताधारी दलको नियतमाथि नै गम्भीर प्रश्न उठाएको बताएका छन्।
मधेशको सामाजिक सद्भाव जोगाउन आरोप–प्रत्यारोपभन्दा निष्पक्ष, पारदर्शी र ठोस सरकारी कदम आवश्यक रहेको उनको भनाइ छ। उनले कुनै पनि बहानामा सामाजिक सद्भाव बिथोल्ने वा साम्प्रदायिक हिंसा भड्काउने प्रयास नगर्न सबै पक्षसँग आग्रह गरेका छन्।











