१६ श्रावण २०८३, शनिबार
,
Latest
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ



अ+ अ-

काठमाडौँ। विधायन व्यवस्थापन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले एकीकृत कानून निर्माण गर्न ऐन कानून कार्यन्वयन मापन आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले कानूनको जंगल बनाउन नहुने बताउनुभएको हो ।

उहाँले कानून निर्माणको उद्देश्य केवल नयाँ ऐन थप्नु नभई विद्यमान ऐन, नियम र कानूनलाई चुस्त, दुरुस्त तथा प्रभावकारी बनाउनु रहेको बताउनु भयो ।

नेपालको विधायकी अभ्यास लामो इतिहास नभएको उल्लेख गर्दै गुरुङले विषयगत समितिमार्फत विधेयकमाथि विस्तृत छलफल गर्ने अभ्यास संविधान कार्यान्वयनपछि मात्र व्यवस्थित रूपमा अघि बढेको धारणा राख्नुभयो ।

गुरुङले अहिले संघ, सात प्रदेश र ७५३ स्थानीय तह गरी कुल ७६१ तहबाट कानून निर्माण भइरहेको उल्लेख गर्दै अत्यधिक संख्यामा ऐन थपिँदा कानूनको जङ्गल सिर्जना हुने खतरा रहेको बताउनु भयो ।

प्रत्येक तहले वर्षमा १० वटा मात्रै ऐन बनाएमा पनि ७ हजार ६ सयभन्दा बढी ऐन थपिने उहाँको भनाई छ । कानुनको जङ्गल भएमा यसले अन्याय बढाउने उहाँले बताउनु भयो । उहाँले एउटै प्रकृतिका कानूनलाई आवश्यक अध्ययनका आधारमा एकीकृत गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामी ऐन ७६१ ठाउँबाट बनाउँछौँ नेपालमा ऐन, हैन ? ७५३ पालिका भयो, ७ वटा प्रदेश, ६० भयो, एउटा यहाँ संघ गर्दा ७६१ ठाउँबाट हामी ऐन बनाउँछौँ । ७६१ ठाउँबाट ऐन बनाउँदाखेरि एउटा ठाउँबाट १० वटा मात्रै ऐन बन्यो भने कति बन्छ ? ७६१० ऐन नेपालमा थपिन्छ, वर्षमा । अथवा अब एउटै–एउटै मात्रै बनाएको छ, भने पनि ७६१ ऐन त बन्ने भयो । ऐनको जङ्गल हुनु भनेको राम्रो होइन । ऐनको जङ्गल भयो भने अन्याय बढ्छ । मान्छे त छटपटाउनै पाउँदैन । त्यस हुनाले हामीले कतिपय ऐनहरूलाई मापन गरेर एकीकृत पनि बनाउनु पर्ने हुन सक्छ । जस्तै निर्वाचन ऐन अहिले कतिवटा छ ? ५ वटा कि ६ वटा छ । यत्रो ऐन किन चाहियो होला ? एउटा इलेक्सन ल भयो भने सबै राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश, स्थानीय तहको पनि, त्यो एउटै कानूनले काम गर्छ । अध्ययनहरू पनि भएका छन्, हामीले कानुनको जङ्गलबाट पनि यसलाई रोक्न जरुरी छ । त्यसैले हामीले जुन रिपोर्ट बनाउँछौँ, त्यो रिपोर्टलाई हामीले फलो–अप गरिरह्यौँ भने केही न केही कानुनको यो यसमा सुधारहरूको लागि सहयोग पुग्छ ।’

सांसद गुरुङले कानुन कार्यान्वयनको प्रभावकारिता मापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समितिले तयार गर्ने प्रतिवेदनको नियमित अनुगमन र कार्यान्वयन भए कानूनी सुधारमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बैठकमा ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।–न्युज एजेन्सी नेपाल