११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह



अ+ अ-

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको लुम्बिनी प्रदेश सुरक्षा समितिको भचुर्अल बैठकमा मुख्यमन्त्री आचार्यले पछिल्लो समय तराई–मधेसका केही जिल्लामा घटेका घटना दोहोरिन नदिन र शान्ति सुरक्षा कायम राख्न आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिँदै सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री आचार्यले सबै सुरक्षा निकायका प्रतिनिधि उच्च मनोबलका साथ परिचालित भइरहेका उल्लेख गर्दै आवश्यक समन्वय र सही सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा बाँके, कपिलवस्तु, बर्दिया, रुपन्देही र नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच आज बिहान मुख्यमन्त्री आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीको देवानगञ्जसहित क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले आपसी सम्यमता अपनाउन सबैमा आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यद्वारा जारी अपिलमा समाजमा शान्ति, अमनचैन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख छ । उहाँले घटनामा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीन तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । रासस