झापा। नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेयपदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रञ्जन आवाका अनुसार संयुक्त चेकजाँचका क्रममा बरामद गरिएका करिब रु छ लाख ६५ हजार बराबरका पेयपदार्थ शुक्रबार मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा नष्ट गरिएको हो ।
नष्ट गरिएका सामग्रीमा कोक, फेन्टा, डिउ, चिसो, स्प्राइटलगायत पेयपदार्थ रहेका छन् । ती सामग्री नेपालमा आयात प्रतिबन्धित वा उपभोगका लागि उपयुक्त नभएकाले कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
काँकरभिट्टा नाकास्थित एकीकृत जाँच एकाइमा मेची भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले यात्रु तथा मालवस्तुको नियमित जाँच गर्दै आएको छ ।
प्रहरी नायब उपरीक्षक आवाले सीमानाकाबाट हुने अवैध सामानको ओसारपसार नियन्त्रणका लागि संयुक्त निगरानी निरन्तर जारी रहेकोभन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कानुनी कारबाही गरिने भएकाले सबै यसतर्फ सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो । रासस











