पेरिस। क्रेमलिन समर्थक प्रचार प्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी रुसी टेलिभिजन टिप्पणीकार जेनिया फेडोरोभाले उक्त निर्णयलाई ‘सेन्सरसिप’ र ‘राजनीतिक दबाब’ को संज्ञा दिँदै त्यसको विरोध गर्नुभएको छ । फ्रान्सेली सरकारले भने उहाँमाथि राष्ट्रको मौलिक हितविरुद्ध रूसी प्रचार फैलाएको आरोप लगाएको छ ।
फेडोरोभाले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै सरकारको कदम आधिकारिक धारणासँग नमिल्ने विचारलाई दबाउने प्रयास भएको बताउनुभयो । उहाँले आज आफूलाई निशाना बनाइएको भए पनि भविष्यमा फरक मत राख्ने जोसुकै यस्तै कारबाहीको सिकार हुन सक्ने दाबी गर्नुभयो ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसै साता फेडोरोभालाई देश छोड्न आदेश दिँदै उहाँले रूसी प्रचार सामग्रीमार्फत फ्रान्सको मौलिक राष्ट्रिय हितमा आघात पु¥याउने प्रयास गरेको आरोप लगाउनुभएको थियो ।
पैँतालिस वर्षीया फेडोरोभा रुसी सरकारी सञ्चारमाध्यम आरटीको फ्रान्सेली सेवाकी पूर्वप्रमुख हुनुहुन्छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि आरटीलाई फ्रान्समा प्रतिबन्ध लगाइएको थियो । हाल उहाँ फ्रान्सेली उद्योगपति भिन्सेन्ट बोलोरेसँग सम्बन्धित सञ्चारमाध्यम समूहमा टिप्पणीकारका रूपमा कार्यरत हुनुहुन्छ ।
फेडोरोभाले आफूविरुद्ध आपत्कालीन कानूनी प्रक्रियाअन्तर्गत निष्कासन आदेश जारी गरिएको बताउनुभएको छ । मुद्दासँग परिचित एक स्रोतका अनुसार आदेशको जानकारी पाएपछि उहाँलाई निगरानीमा राखिएको छ ।
फ्रान्सेली वित्त मन्त्रालयले हस्तक्षेपसम्बन्धी सम्भावित नयाँ गतिविधि रोक्न बनाइएको कानूनी व्यवस्थाअनुसार फेडोरोभाको सम्पत्ति छ महिनाका लागि रोक्का गरिएको जनाएको छ ।
फेडोरोभाले आफ्ना कानूनी प्रतिनिधिमार्फत निष्कासन आदेश र सम्पत्ति रोक्का गर्ने निर्णय दुवैलाई अदालतमा चुनौती दिने जानकारी दिनुभएको छ । उहाँका वकिल इम्मानुएल पिभ्निकाले फेडोरोभा ‘निरन्तर अभियान’ को सिकार भएको दाबी गर्नुभएको छ ।
उहाँ कार्यरत सञ्चारमाध्यम समूहले पनि निष्कासन आदेशप्रति आश्चर्य व्यक्त गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको प्रतिक्रिया दिएको छ ।
यता, गलत सूचना अध्ययन गर्ने विज्ञहरूले भने फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि आरटीकी पूर्वपत्रकार फेडोरोभाको प्रभावबारे यसअघि नै चिन्ता व्यक्त गर्दै आएका छन् । (रासस/एएफपी)











