काठमाडौं । पाकिस्तानस्थित काराकोरम हिमश्रृंखलाको ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको शक्तिशाली हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोही सम्पर्कविहीन भएका छन्। घटनापछि उनीहरूको खोज तथा उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ।
सम्पर्कविहीन हुनेमा नेपालका निर्मल पुर्जा, पुर बहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमाशेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाका साथै ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी मल्लोरी गाइस रहेका छन्।
बिहीबार दिउँसो करिब १२ बजेतिर ब्रड पिक क्षेत्रमा हिमपहिरो गएको र त्यसलगत्तै आरोही टोलीसँगको सम्पर्क टुटेको बताइएको छ। त्यसयता उद्धार टोलीले प्रतिकूल मौसम र दुर्गम भू–भागका बीच खोज अभियान निरन्तर सञ्चालन गरिरहेको छ।
बीबीसीसँगको कुराकानीमा नेपाली सांसद तथा पर्वतारोहण व्यवसायी मिङ्मा ग्याबु शेर्पाले के–टु र के–थ्री क्षेत्रमा रहेका अनुभवी आरोहीहरूलाई समेत उद्धार अभियानमा सहभागी गराइएको जानकारी दिएका छन्। उनका अनुसार ती आरोहीहरू आफ्ना क्याम्पबाट तल झर्दै प्रभावित क्षेत्रमा पुगेर खोज कार्यमा सहयोग गरिरहेका छन्।
उनले निर्मल पुर्जासँग आबद्ध व्यावसायिक पर्वतारोहण कम्पनी ‘इम्याजिन नेपाल’का सदस्यहरू पनि सक्रिय रूपमा उद्धार अभियानमा खटिएको बताए।
यसअघि निर्मल पुर्जाको ट्र्याकिङ उपकरणमा केही गतिविधि देखिएको खबर सार्वजनिक भएको थियो। त्यसबारे स्पष्ट पार्दै शेर्पाले उक्त गतिविधि बिहीबार ट्र्याकिङ प्रणालीमा रेकर्ड भएको पुष्टि गरे। तर त्यसपछि उनीहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ।
उता पाकिस्तान सरकारले उद्धार अभियानलाई प्रभावकारी बनाउन सेना परिचालन गरिसकेको छ। पाकिस्तान आर्मी एभिएसनका दुई हेलिकप्टर उद्धारकर्मी र आवश्यक उपकरणसहित घटनास्थलतर्फ पठाइएको छ भने स्कर्दुमा थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले उद्धारमा संलग्न सबै निकायको तदारुकता र समन्वयप्रति आभार व्यक्त गर्दै सम्पर्कविहीन सबै आरोही सुरक्षित भेटिने आशा व्यक्त गरेको छ। हालसम्म उद्धार अभियान निरन्तर जारी रहेको छ।











