काठमाडाैँ । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती प्रतीक्षा नियुक्त हुनुभएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उहाँलाई नियुक्तिपत्र प्रदान गर्नुभयो ।
यस्तै उपकुलपतिमा तिलक पुर्जा पुन (कला तथा साहित्य) र सदस्य सचिवमा जीवन दाहाल (लोकगीत तथा सङ्गीत) नियुक्त हुनुभएको हो । प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) रहनुभएको छ । यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम गमबहादुर परियार, ज्योति गुरुङ, नवराज अधिकारी, प्रेमराज अधिकारी, भास्करध्वज श्रेष्ठ, रवीन्द्र माकाजु, रीता पाहारी र शिवहरि ढुङ्गाना रहनुभएको छ ।
प्रमुख आचार्यले पोखराको साहित्य, कला, संस्कृति, भाषालगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा प्रतिष्ठानले उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत रूपमा पोखरा घरमा व्यवस्थित कार्यालय र कार्य सञ्चालनका लागि कानुनी रूपमा पर्याप्त व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको उहाँले बताउनुभयो ।
उपप्रमुख मञ्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगर क्षेत्रको साहित्य, कला, भाषा, सृजना र संस्कृतिको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने उल्लेख गर्नुभयो । प्रतिष्ठानलाई सक्रिय र चलायमान बनाउनका लागि महानगरपालिकाले आवश्यक सहयोग तथा सहजीकरण गर्ने उहाँले बताउनुभयो । नवनियुक्त कुलपति प्रतीक्षाले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरेली प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिमा आफूहरू समर्पित भएर लाग्ने उल्लेख गर्दै उहाँले पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमूना प्रतिष्ठानका रूपमा स्थापित गर्ने विश्वास दिलाउनुभयो । पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) अनुसार कुलपतिलगायत पदाधिकारी र सदस्यहरू नियुक्त तथा मनोनयन गरिएको महानगरपालिकाले जनाएको छ ।











