१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा हालै भएका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

रास्वपाका सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गरिएको छ। पार्टीले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलल पुग्ने कुनै पनि गतिविधि नगर्न र नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई अपिल गरेको छ।

रास्वपाले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन समेत आग्रह गरेको छ। संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र अवस्था सामान्य बनाउन आफूहरू नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको पार्टीले जनाएको छ।

घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित न्याय र राहत उपलब्ध गराउन पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले पीडितलाई क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्नसमेत माग गरेको छ।

रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा आफू सदैव अडिग रहेको जनाएको छ। परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न पार्टी निरन्तर छलफलमा रहेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न रास्वपाले सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग आग्रह गरेको छ। पार्टीका स्थानीय समितिका सदस्यसहित सम्पूर्ण पार्टी पंक्तिलाई शान्ति र सद्भाव कायम गर्न सहयोगी भूमिका खेल्न विशेष निर्देशनसमेत दिइएको छ।