काठमाडौं । भूकम्पपछि निजी आवास पुनर्निर्माणमा काठमाडौं उपत्यका बाहिरी जिल्लाभन्दा पछाडि परेको छ । पुनर्निर्माण सुरु भएयता उपत्यकाबाहिरका ५७.२५ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनर्निर्माण गरिसकेका छन् । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको तथ्यांकअनुसार उपत्यकाभित्रका तीन जिल्लामा बनाइसक्ने लाभग्राहीको हिस्सा २८ प्रतिशत मात्र छ ।
उपत्यकाबाहिरका २७.४२ प्रतिशत लाभग्राहीले घर निर्माण गर्दै छन् भने उपत्यकाभित्रका २७ प्रतिशतको घर पुनर्निर्माणको प्रक्रियामा छ । पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ अनुदान लिने तर, आवास नबनाई बस्ने लाभग्राहीको संख्या पनि उपत्यकाभित्र सबैभन्दा बढी छ । उपत्यकामा पहिलो किस्ता बुझेकामध्ये ५८.५४ प्रतिशतले घर निर्माण नगरेको तथ्यांकले देखाउँछ । उपत्यकाबाहिर यो संख्या २१.०४ प्रतिशत मात्रै छ ।
अनुदान सम्झौता गर्ने र अनुदानको पहिलो किस्ता लिने भूकम्पपीडितको अनुपात दुवै क्षेत्रमा झन्डै बराबर छ । तर, पहिलो किस्ता बुझेपछि बढीजसो उपत्यकाका स्थानीय घर नबनाई बसेको देखिन्छ । उपत्यकाबाहिर पहिचान गरिएका कुल लाभग्राहीमध्ये ९५.०८ प्रतिशतसँग सम्झौता भयो । सम्झौता भएकामध्ये ९९.१९ प्रतिशत पीडितले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पनि बुझे । सोही अवधिमा उपत्यकाभित्रका कुल लाभग्राहीमध्ये ८७.३६ प्रतिशतसँग अनुदान सम्झौता भयो ।
जसमध्ये ९९.८ प्रतिशतले पहिलो किस्ता बुझे । तर, उपत्यकामा दोस्रो किस्ताबापतको एक लाख पचास हजार रुपैयाँ भने ४१.२६ प्रतिशतले मात्रै लिए । अर्थात् पहिलो किस्ता लिएकामध्ये ५८.५४ प्रतिशत लाभग्राहीले आवास नै बनाएनन् । उपत्यकाबाहिर भने अनुदान सम्झौता भएकामध्ये ७८.१५ प्रतिशतले घर बनाएर दोस्रो किस्ता बुझेका छन् ।
प्राधिकरणका अनुसार भूकम्पपीडितका लागि सरकारले दिएको अनुदानबापतको तीन लाख रुपैयाँबाट ढलेको घर बन्न नसक्ने भएकाले उपत्यकावासी निजी आवास पुनर्निर्माणमा उत्साही नदेखिएका हुन् । त्यस्तै, क्षतिग्रस्त घर थोरै जग्गामा बनेको, तर सोही परिमाणको जग्गामा घर बनाउँदा स्थानीय तहबाट नक्सा पास नै नहुने हुनाले पनि घर नबनेको प्राधिकरणको भनाइ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनहरि घिमिरे भन्छन्, ‘ उपत्यका सहर हो । सहरको पुनर्निर्माण जटिल हुन्छ । सरकारले दिने तीन लाख रुपैयाँको अनुदानले यहाँ घर बन्न सक्दैन । बजार महँगो छ ।’
लाभग्राही
उपत्यकाबाहिर : ८,१६,३०९
उपत्यका : १,०४,५५३
अनुदान सम्झौता
उपत्यकाबाहिर: ९५.०८%
उपत्यका : ८७.३६%
घर निर्माण सुरु
उपत्यकाबाहिर : ८४.६७%
उपत्यका : ५१%
घर निर्माण सम्पन्न
उपत्यकाबाहिर : ५७.२५%
उपत्यका : २८५%
घर निर्माण गर्दै
उपत्यकाबाहिर : २७.४२%
उपत्यका : २३% समाचार नयाँ पत्रिका दैनिकबाट