१ आश्विन २०८३, बिहीबार
,
Latest
खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै निर्वाचन आयोगको प्रमुख चुनौती रहेको बताउनुभएको छ ।
मङ्गलवार संघीय संसदको संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रश्तावित आयुक्त वाग्लेको कार्ययोजना र अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपनेता अर्यालले उहाँको कानून पृष्ठभूमि र विगतमा निर्वाचन अधिकृतका रूपमा सँगालेको अनुभव सकारात्मक पक्ष भएपनि कार्ययोजनामा नयाँ विषयहरूको कार्यान्वयनको ठोस आधार र पहिचान स्पष्ट नभएको उल्लेख गर्नुभयो । छलफलका क्रममा अर्यालले निर्वाचनका बेला आयोग, सुरक्षा निकाय र मतदान केन्द्रमा खटिने कर्मचारीहरूबीच प्रभावकारी समन्वय नहुँदा सुरक्षा चुनौती थपिने गरेको बताउनु भयो । विशेषगरी संवेदनशील क्षेत्रहरूमा आपसी समन्वयको अभावले बेवारिसे स्थिति सिर्जना हुने गरेको उहाँको भनाइ छ ।

उपनेता अर्यालले निर्वाचनका क्रममा भएका गम्भीर त्रुटीहरूका बारेमा पनि आयोगको ध्यानाकर्षण गराउनु भयो । ६० प्रतिशत मत खस्न गाह्रो हुने ठाउँमा ९९ प्रतिशत मत खस्दा पनि आयोगले त्यसलाई स्वाभाविक मान्नु विडम्बनापूर्ण रहेको उहाँले टिप्पणी गर्नुभयो । वैदेशिक रोजगारीमा गएका र मृत्यु भइसकेका व्यक्तिका नाममा समेत मतदान हुने गरेको प्रमाण पेस गर्दा पनि आयोगले त्यसलाई तथ्यका रूपमा स्वीकार नगरेकोमा उहाँले आपत्ति जनाउनु भयो ।

प्रश्तावित आयुक्तले अघि सारेको बायोमेट्रिक मतदाता पहिचान प्रणालीको स्वागत गर्दै अर्यालले यसको खर्च व्यवस्थापन र कार्यान्वयनको सम्भाव्यतामाथि प्रश्न उठाउनु भयो । नेपालको आफ्नै स्रोत र साधनले यसलाई कसरी धान्न सक्छ भन्नेमा स्पष्टता हुनुपर्ने उहाँको धारणा छ ।  निर्वाचनसम्बन्धी कानुनको परिमार्जन र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा पनि ठोस पूर्वाधार र रोडम्याप आवश्यक रहेको उहाँले बताउनु भयो । उम्मेदवारहरूको आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्ने अभ्यास सकारात्मक रहेको उल्लेख गर्दै उहाँले संवाद र छलफलमार्फत नै निर्वाचन प्रणालीलाई थप परिष्कृत बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।– न्युज एजेन्सी नेपाल

 




भर्खरै