१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक : एकीकरणको १६ महिनापछि महानगरले पाए नेतृत्व



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६ वटा महानगरमा पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको १६ महिनापछि महानगर कमिटीमा नेतृत्वको टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले ६ वटा महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायाणकाजी श्रेष्ठले महानगर कमिटीको अध्यक्ष र सचिव टुंगो लागेको बताए । ‘सचिवालय बैठकले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ,’ श्रेष्ठले भने, ‘एकताको बाँकी सांगठनिक काम छिटै नै बस्ने अर्को बैठकले टुंगो लगाउँछ ।’ श्रेष्ठका अनुसार काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ, ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य चयन भएका छन् ।

पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा छन् । यसैगरी, वीरगन्ज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा डा। विश्वम्भर शर्मा, विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की चयन भएको श्रेष्ठले बताए । तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठ २०७४ मा पार्टी एकीकरण भएको थियो ।

एकीकरण सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताले तीन महिनाभित्रै पार्टी एकताको काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको १६ महिना बित्दासमेत अहिलेसम्ममा पोलिटब्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीलगायतका एकताको सांगठनिक कार्य अझै टुंगो लागेको छैन ।

नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ । नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ ।

जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताबीच यस अघि नै भइसकेको छ । यसैबीच पछिल्लो सचिवालय बैठकले चार जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेकाले यस संख्यामा घटबढ हुन सक्छ । समाचार राजधानी दैनिकबाट