• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

राष्ट्रपति सीको भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुर्याउँछः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सैद्धान्तिक–वैचारिक विषयमा केन्द्रित विचारधारात्मक अन्तक्र्रिया सुरु भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने निश्चित भएलगत्तै दुई कम्युनिस्ट पार्टीले सोमबारबाट दुई दिने अन्तक्र्रिया चलाएका हुन् । यसलाई राष्ट्रपति सीको आसन्न भ्रमणको गृहकार्यकै एक हिस्सा मानिएको छ ।

होटेल याक एन्ड यतीमा भइरहेको अन्तक्र्रियामा चीनले अघि बढाएको सी विचारधारा र यसले हासिल गरिरहेको उपलब्धि तथा नेकपाले अपनाइरहेको जनताको जनवादको कार्यदिशामा केन्द्रित रहेर दुई पार्टीका नेताहरूले वैचारिक अनुभव साटिरहेका छन् । अन्तक्र्रियाको शीर्षक ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रम’ छ ।

उद्घाटन सत्रमा नेकपाका नेताहरूले चिनियाँ मोडलको सी विचारधारा विश्वकै लागि समाजवाद निर्माणको मोडल बन्दै गएको भन्दै प्रशंसा मात्र गरेनन्, नेपालले समेत यसबाट शिक्षा लिएर अघि बढ्न सक्ने पनि उनीहरूले बताए । चिनियाँ नेताहरूले पनि दुवै देशको समाजवाद निर्माणको कार्यदिशा आ–आफ्नै विशेषतामा आधारित भए पनि राजनीतिक–वैचारिक क्षेत्र र विकासका सन्दर्भमा सहयोग आदान–प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए ।

मंगलबार दुई देशका कम्युनिस्ट पार्टीबीच एक समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि छ । ‘समझदारीपत्रमा हस्ताक्षरसँगै दुई पार्टीबीच भ्रातृत्वको औपचारिक सम्बन्ध स्थापित हुनेछ,’ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने ।

सी विचारधाराले विश्व व्यवस्थालाई नेतृत्व गर्न सक्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले सी विचारधाराले विश्व व्यवस्थालाई नै नेतृत्व गर्न सक्ने गरी आकार ग्रहण गर्दै गएको बताएका छन् । ‘यदि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हुन्नथ्यो भने ७० वर्षमा चिनियाँ समाजको आर्थिक, सामाजिक रूपान्तरण र आजको चामत्कारिक उपलब्धि सम्भव थिएन,’ प्रधानमन्त्री ओलीले अन्तक्र्रियामा भने, ‘पछिल्लो दशक चीनले हासिल गरेका ती सबै उपलब्धिको श्रेय राष्ट्रपति सीलाई नै जान्छ ।

विश्वलाई हेर्ने उहाँको गतिशील सोचले विश्व व्यवस्थाको नेतृत्व गर्न सक्ने गरी आकार ग्रहण गर्दै गएको छ ।’ चीनले आफ्नो मौलिक विशेषता र पसिनाको जगमा उपलब्धि हासिल गरेको भन्दै उनले चिनियाँ विकासको मोडल विश्वकै लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेकपाले जबज र जनताको जनवाद नेपाली विशेषताअनुसार माक्र्सवादकै सिर्जनात्मक प्रयोगको मोडल भएको बताए ।

उनले सी विचारधारा पनि समाजवादकै मोडल भएकाले दुई विचारधाराबीच निरन्तर छलफल र अनुभव आदान–प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले नेपाल सधैँ एक चीन नीतिप्रति स्पष्ट र दृढ रहेको प्रतिबद्धता दोहोर्याए । चीनविरुद्ध नेपालको भूमि र आकाश कुनै पनि मुलुकलाई प्रयोग गर्न नदिने उनीहरूले बताए ।

प्रधानमन्त्री ओलीले चीनले अवलम्बन गर्ने नीति र आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुनेमा आफूहरू स्पष्ट रहेको प्रस्ट्याए । ओलीले चामत्कारिक विकास गरेर विश्वकै शक्तिशाली बनेको चीनमा अरू देशको जस्तो साम्राज्यवादी चरित्र नदेखिनु तथा अवाञ्छित गतिविधिमा लागेर कसैको पनि सार्वभौमसत्तामा दख्खल पार्ने काममा नलाग्नु ज्यादै प्रशंसनीय विषय भएको पनि उल्लेख गरे ।

राष्ट्रपति सीको भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुर्याउँछः अध्यक्ष प्रचण्ड
अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनेमा आफू विश्वस्त रहेको बताए । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरे । ‘नेपालको राष्ट्रपतिको चीन भ्रमण, विदेशमन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको छ,’ उनले भने, ‘चीनका तर्फबाट पनि निकट भविष्यमै उच्चस्तरीय भ्रमण हुनेमा हामी पूर्ण विश्वस्त छौँ ।’

अध्यक्ष प्रचण्डले चिनियाँ शैलीको समाजवादले उदाहरणीय विकास गर्दै गएकाले विश्वभर बहस चलिरहेको बताए । साथै, जनतालाई समृद्धि र सन्तुष्टि दिएकै कारण चिनियाँ सत्ताले निरन्तर शासन गर्ने वैधता प्राप्त गर्दै आएको उनले स्पष्ट पारे । ‘आज संसारको कुनै पनि प्रणालीले नदिएको तीव्र विकास चिनियाँ प्रणालीले दिएको छ, जनतालाई सेवा पुर्याएकाले निरन्तर सत्तामा बस्ने वैधता चिनियाँ कम्युनिस्ट पार्टीले प्राप्त गरेको छ,’ प्रचण्डले भने ।

राष्ट्रपति सीको वैचारिक नेतृत्वमा पार्टी र सिंगो राष्ट्र अनुशासित रूपमा संगठित हुँदै विश्व व्यवस्थातर्फ लम्किएको भन्दै प्रचण्डले प्रशंसा गरे । नेपाल पनि संविधानमै उल्लेख गरेर समाजवादको दिशातर्फ अघि बढेकाले चिनियाँ समाजवादको मोडल प्रेरणाको स्रोत बन्ने विश्वास पनि प्रचण्डले व्यक्त गरे ।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको लक्ष्य एउटै होः सङ ताओ, अन्तर्राष्ट्रिय विभाग प्रमुख, चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओले राष्ट्रपति सीको नेपाल भ्रमण सुनिश्चित भएको स्पष्ट संकेत दिए । निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए । नेपाल र चीन दुवै देशका सत्तारूढ कम्युनिस्ट पार्टीको विचारधाराको लक्ष्य एउटै भएको बताए ।

‘केही वर्षयता नेकपाले पनि जबज र २१औँ शताब्दीको जनवाद भनेको छ, यो शान्तिपूर्ण रूपान्तरणको बाटो हो,’ सङले भने, ‘सी विचारले पनि शान्तिपूर्ण विकासलाई नै अघि सार्छ ।’ ‘हामी विश्वभरिका जनतालाई साथमा लिएर समृद्ध बनाउन चाहन्छौँ,’ सङले भने । नेपालको एक चीन नीतिप्रति कृतज्ञता ज्ञापन गर्दै ताओले दुई देशले आ–आफ्नै विशेषताका आधारमा समाजवाद निर्माण गर्ने बाटो अख्तियार गरेको भए पनि साझा लक्ष्य भएकाले आपसी सहकार्यमा जोड दिए ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र सी विचारधाराको अनुभव स्कुल विभागलाई साट्ने गरी आफूहरू सहकार्य गर्न तयार रहेको पनि बताए । सी विचारधाराका आधारमा समृद्ध समाजवाद निर्माण गर्दै चीनले विश्वलाई नयाँ मोडल दिन चाहेको उनको भनाइ थियो ।

नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेल भन्छन्–चिनियाँ प्रशिक्षण नेपालको समृद्धिको यात्रामा सहयोगी हुन्छअहिले हामीले राजनीतिक अधिकारको लडाइँमा सफलता हासिल गरेका छौँ । अब हाम्रो सिंगो ध्यान मुलुकको समाजवादउन्मुख आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ मोडिएको छ । अब हाम्रो स्कुलिङ पनि आर्थिक विकास र समृद्धितर्फ नै केीनद्रत हुनेछ । यसका लागि पार्टी स्कुलका स्थायी संरचनाहरूको निर्माण, मुलुकको बदलिँदो सन्दर्भअनुसार पार्टीका नीति र कार्यक्रमको आधारमा पाठयक्रम र सिकाइका विधि पनि परिवर्तित हुनेछन् ।

दुई मुलुकका पार्टीका केन्द्रीय स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधिका बारेमा आपसी अनुभवहरूको आदान–प्रदान गर्न आवश्यक छ । हाम्रो पार्टीका प्रशिक्षकलगायत नेता–कार्यकर्ताहरूको द्विपक्षीय अध्ययन भ्रमणमार्फत नेता–कार्यकर्ताकै तहमा पनि आपसी अनुभव आदान–प्रदान गर्ने अवसर सिर्जना गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुन आवश्यक छ ।

खासगरी, जनवादी गणतन्त्र चीन स्थापना भएपछि चीनले हासिल गरेको तीव्र आर्थिक विकास र चिनियाँ कम्युनिस्ट पार्टीले तय गरेका पार्टी स्कुलका पाठ्यक्रम र प्रशिक्षण विधि नेपालको समृद्धिको यात्रामा र हाम्रो पार्टी स्कुलको पाठ्यक्रम निर्माणमा पनि सहयोगी हुनेछन् । नयाँ पत्रिका दैनिकबाट