काठमाडौं । आज असार १५, राष्ट्रिय धान दिवस । असार १५ लाई नेपाल सरकारले केही बर्षअघि औपचारिक दिवसका रुपमा धान दिवस मनाउने घोषणा गरे पनि नेपालको लोक परम्परामा असार १५ भनेको धान रोपाइँ सुरु गर्ने अर्थात् रोपाइँले ब्यस्त रहने दिन भनिन्छ ।
त्यसैले यदि कोही मानिस अत्यन्तै व्यस्त छ भनेर चिनाउनु पर्यो भने पनि ‘उसलाई त असार १५ लागेको छ’ भन्ने गरिन्छ । त्यसैले आज खेतीपातीको र किसानको सम्मानका खातिर पनि धेरै ठूलाबडाहरु धान रोपाइँमा जाने गर्दछन् । तस्बिर खिचाउन, देखाउन र म किसनको साथमा छु भन्ने देखाउन र बुझाउनका लागि पनि मन्त्री, नेता आदिले रोपाइँ गर्ने गरेका छन् । सोही बमोजिम आज राष्टपतिले काठमाडौँमै त प्रधानमन्त्रीले चितवनमा पुगेर धान रोपाइँ गरी सरकारी सञ्चारमाध्यमहरुमा तस्बिर छपाएका छन् । कतिले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गरिरहेका छन् ।
यो पनि पढ्नुहोस- चौतारीमा श्रीमान् भेटिए‘ (भिडियो सहित)
तर पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली भने आज तस्बिर खिचाउनका लागि र शुभकामना सामाजिक सञ्जालमा पोष्ट्याउनका लागि नभएर धान उत्पादनका लागि रोपाइँ गर्नुभयो । उहाँले आज आफ्नै खेतमा रोपाइँ गर्नुभयो । उहाँ सधैँ कृषि खेतीतर्फ रमाउने गर्नुहुन्छ । आज मात्र होइन, उहाँलाई फुर्सद मिल्यो कि अर्गानिक तरिकाले खेती गरेर आफुलाई आवश्यक पर्ने धान, गहु, मकै र तरकारी आफै उत्पादन गर्ने गर्नुहुन्छ ।
असार १५ मानो रोपेर मुरी उब्जाउने दिन पराजुली बिहानै देखि नवलपरासीको कावासोती, ५ स्थित खेतमा ब्यस्त हुनुहुन्थ्यो । उमेरले ७१ बर्ष पुगेका पराजुलीले आफ्नो परम्परा धान्न र यसमा रमाउनका लागि समय समयमा खेतीमै व्यस्त रहने गर्नुहुन्छ । त्यहाँ पराजुलीको करिब डेढ बिगाहा जग्गा छ । आफ्नो स्थायी बसोबास रहेको यहाँ उहाँले स्थानीयहरुसँग मिलेर कहिले चौतारी बनाउने त कहिले फलफुल खेतीमा रमाउने गर्नुहुन्छ । आज उहाँले १० कट्ठा खेत १५ असारको दिन रोप्ने तयारीकासाथ खेतला तयार पारी आफैँ बाउसेको काममा खटिनुभएको थियो ।
२०२० साल तिर पहाड तनहुबाट बसाइँसराइ गरि कावासोती झरेका पराजुली पेसा र जागिरले गर्दा अन्यत्र गएपनी आफ्नो स्थायी बसोबासको लागि कावासोती, ५ मा बस्ने गर्नुहुन्छ । प्रधानन्यायाधीशको अबकासपछि उहाँले खेतीपातीलाई बढी प्राथमिकता दिन थाल्नुभएको हो । उहाँले कृषिलाई आधुनिकतातर्फ लैजानकै लागि गहु, धान काट्ने मेसिन समेत आफै खरिद गरेर ल्याउनुभएको छ । उहाँको कृषि कर्मले यहाँका स्थानीयलाई पनि प्रेरणा दिने गरेको छ । उहाँसँगै उहाँका छिमेकीहरुले पनि खेतीपातीलाई सम्मान गर्ने र काममा सँगसँगै लाग्ने गर्दछन् ।
आज पनि उहाँसँगै भेटिनुभएको थियो नेपाल बार एसोसेसनका जिल्ला अध्यक्ष चेतप्रसाद डुम्रे । उहाँले पनि श्रीमानले खेतिपातीको समयमा आफैँ खटिने र किसानले झैँ काम गर्ने गर्नाले छिमेकीलाई पनि काम गर्न उत्साह बढेको छ । उहाँको कृषि कर्मले धेरैलाई प्रेरणा र हौसला थपिदिएको छ ।