३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा



अ+ अ-

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई नेपालको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र बीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्नुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक न्याय, मानव कल्याण, लोककल्याण, नैतिक जिम्मेवारी र दिगोपनाबिनाको विकास अर्थहीन हुने धारणा राख्नुभयो । विकासको अवधारणालाई केवल भौतिक पूर्वाधार निर्माणसँग मात्रै जोड्न नहुने भन्दै थापाले न्यायपूर्ण र दिगो विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

सभापति थापाले बीपी कोइरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्द प्रयोग नगरे पनि व्यवहारमै समावेशी लोकतन्त्रको अभ्यास गरेको स्मरण गर्नुभयो । महिलालाई मन्त्रिमण्डलमा सहभागी गराउने, दलित समुदायका प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाउने तथा विभिन्न जातजाति र भाषाभाषीलाई संसद् र मन्त्रिमण्डलमा समेट्ने काम गरेर बीपीले समावेशी लोकतन्त्रको आधार प्रस्तुत गरेको उहाँको भनाइ थियो ।

थापाले बीपी कोइरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण तथा प्राकृतिक स्रोतसाधनमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको उल्लेख गर्दै ती दूरदर्शी विचारलाई वर्तमान समयमा समेत आत्मसात गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस भविष्यप्रति आशावादी रहेको बताउँदै भविष्यको मार्ग तय गर्न इतिहासबाट सिक्न आवश्यक रहेको उल्लेख गर्नुभयो । अग्रजहरूले देखाएको बाटो र उनीहरूका विचारलाई आधार बनाएर जलवायु परिवर्तनको विषयलाई नेपालको विकासको मूल विषय बनाउन कांग्रेस प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

‘आज हामीले जननायक बीपी कोइरालालाई जलवायु परिवर्तनसँग जोडेर सम्झिएका छौँ,’ उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन भन्ने शब्द बीपी कोइरालाले प्रयोग गर्नुभएको थियो वा थिएन, त्यो अलग कुरा हो । तर विकासका विषयमा सामाजिक न्याय, मानव कल्याण, नैतिक जिम्मेवारी र दिगोपनालाई बेवास्ता गरियो भने त्यस्तो विकासको कुनै अर्थ हुँदैन ।’

सभापति थापाले बीपीका अनुयायीहरूले पछिल्लो समय विकासको प्रतिस्पर्धामा लाग्दा उहाँले अघि सारेका कतिपय महत्वपूर्ण विषय बिर्सिएको बताउनुभयो । अब भने विगतका अनुभव र अग्रजका विचारबाट सिक्दै भविष्यतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा युवा तथा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका विज्ञहरूसँग जलवायु परिवर्तन र विकासका विषयमा छलफल गरिएको थियो । छलफलबाट प्राप्त ज्ञान, सुझाव र अनुभवलाई पार्टीले नीतिगत तहमा उपयोग गर्दै लैजाने सभापति थापाले प्रतिबद्धता जनाउनुभयो ।