१ श्रावण २०८३, शुक्रबार
,
Latest
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला राष्ट्रिय युवा ऐन–२०८३ को विधेयकमाथि छलफल सुरु ‘मास्टर्नी’ चलचित्रको गीतप्रति शिक्षक महासङ्घको आपत्ति, हटाउन माग मुगु र बाजुराका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा पेन्सन लिइरहेका करार कर्मचारीलाई साउन १ देखि हटाइने मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो कार्यकालको अन्तिम चरणमा प्रदेश सरकार फेरबदलप्रति नेता भट्टराईको असन्तुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउने संक्रान्ति र सिसेःक्पा तङ्नामले लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको प्रेरणा दिन्छ : भीष्मराज आङदेम्बे



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले साउने संक्रान्ति तथा किराँत–लिम्बू समुदायको सिसेःक्पा तङ्नाम पर्वले लोकतन्त्र, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणका लागि नयाँ प्रतिबद्धता जगाउने विश्वास व्यक्त गर्नुभएको छ।

साउने संक्रान्ति तथा सिसेःक्पा तङ्नामको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङदेम्बेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको हो।

उहाँले नेपालको सांस्कृतिक विविधता राष्ट्रिय पहिचान र गौरवको आधार भएको उल्लेख गर्दै साउने संक्रान्ति हिन्दू धर्मावलम्बीले स्नान, दान, पूजाआजा तथा लुतो फाल्ने परम्परासहित स्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै मनाउने पर्व भएको बताउनुभयो। कृषि कर्मबाट थकित जनजीवनलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने यस पर्वले शुद्धता, नवआरम्भ र सकारात्मक परिवर्तनको सन्देश दिने उहाँको भनाइ छ।

शुभकामना सन्देशमा मगर समुदायले पनि साउने संक्रान्तिलाई आफ्नै सांस्कृतिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदै प्रकृतिप्रति सम्मान, सामुदायिक एकता, कृषि जीवनको निरन्तरता तथा सुख–समृद्धिको कामना गर्ने परम्परा जीवित राख्दै आएको उल्लेख गरिएको छ।

यस्तै, लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नाममा नयाँ फलफूल तथा अन्नबाली तागेरानिङ्वा फुमाङलाई अर्पण गरी प्रकृतिप्रति कृतज्ञता प्रकट गरिने तथा ‘साक्ना:प्मा’ विधिमार्फत अभाव, दुःख र भोकमरीलाई प्रतीकात्मक रूपमा विदा गर्दै समृद्धिको कामना गर्ने परम्परा रहेको उहाँले स्मरण गर्नुभएको छ।

आङदेम्बेले यी पर्वहरूले समाजमा रहेका विकृति, अन्याय र नकारात्मक प्रवृत्तिलाई त्यागेर उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्दै पछिल्लो समय नेपाली राजनीतिमा निरंकुश शासकीय प्रवृत्ति, अधिनायकवादी सोच, नागरिक अधिकारमाथिको हस्तक्षेप तथा निमुखा र विपन्न नागरिकको आवाज दबाउने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ।

उहाँले साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई विदा गरेझैँ लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार तथा अधिनायकवादी सोचलाई पनि सदाका लागि त्याग्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेता आङदेम्बेले जनता नै सार्वभौमसत्ताको स्रोत हुन् भन्ने लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्दै संविधान, विधिको शासन, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।