काठमाडाैँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।
मन्त्रीहरूले बुधबार बिहान मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढा रहेका छन्।
बुधबार बिहान मन्त्रिपरिषद् बैठक बोलाइए पनि कांग्रेसका कुनै पनि मन्त्री त्यसमा सहभागी भएनन्। आर्थिक मामिला तथा योजनामन्त्री शाह विदेश भ्रमणमा रहेकाले बैठकमा उपस्थित भएनन् भने ऊर्जा तथा जलस्रोत विकासमन्त्री बुढा पनि बैठकमा सहभागी भएनन्। मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी भने मन्त्रिपरिषद् बैठकमा नबसी मुख्यमन्त्रीलाई राजीनामा बुझाएर फर्किएका थिए।
कर्णाली प्रदेशमा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार सञ्चालनमा छ। सरकारको नेतृत्व एमालेका मुख्यमन्त्री यामलाल कँडेलले गरिरहेका छन्। प्रदेश सरकारमा एमालेका तर्फबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री छन्।
यसअघि एमाले र कांग्रेसबीच आलोपालो नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसा











