१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाको अशान्त पपुआबाट १६ हजार विस्थापित



अ+ अ-

जकार्ता । इन्डोनेसियाको अशान्त पपुआ क्षेत्रबाट १६ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । इन्डोनेसियाली सेनाका अनुसार पपुआमा भडकिएको हिंसाका कारण यतिठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको यो पहिलो पटक हो ।

गत महिना वामेना नगरबाट भडकिएको हिंसाका कारण केही दर्जन मानिस मारिएका थिए भने केही पीडितलाई जिउँदै जलाइएको थियो । भवनहरुमा आगजनी गरिनुका साथै अरु कतिपय मानिसलाई छुरा प्रहार गरिएको थियो । गत अगस्टको मध्यदेखि पपुआमा आदिवासी पपुआ र बाहिरबाट आएका इन्डोनेसियालीबीच प्रदर्शन र हिंसात्मक झडप जारी रहेका छन् । गरिबीको चपेटामा रहेको पपुआका नागरिकले स्वतन्त्रताको माग गर्दै आएका छन् ।

बहुसंख्यक पपुआका नागरिक इसाई धर्मावलम्बी छन् । मुस्लिम बहुल इन्डोनेसियामा यी दुबै सम्प्रदायबीच वर्षौंदेखि तनाबको स्थिति रहने गरेको छ । गत सोमबार इन्डोनेसियाली वायु सेनाले करिब ११ हजार ४०० जनालाई सैनिक विमानबाट उद्धार गरेको थियो । उद्धार गरिएकाहरुमा अधिकांश आप्रवासीहरु रहेको सेनाले जनाएको छ ।

गत सेप्टेम्बरको अन्त्यदेखि अरु हजारौं व्यक्तिले बढ्दो असुरक्षाका बीच व्यवसायिक उडानबाट पपुआ छाडेको पनि सेनाले बताएको छ । मानव अधिकारवादी संस्थाहरुले वामेना हिंसाका क्रममा ३३ जनाको मृत्यु भएका सम्बन्धमा स्वतन्त्र छानबिन गर्न इन्डोनेसियाली मानव अधिकार आयोग समक्ष आग्रह गरेका छन् ।

उनीहरुले पपुआको हिंसाका बारेमा राष्ट्रसंघीय जाँचका लागि इन्डोनेसिया सरकारले अनुमति दिनुपर्ने माग पनि गरेका छन् । वामेनामा एक स्थानीय शिक्षकले विद्यार्थीका सम्बन्धमा गरेको जातीय टिप्पणीपछि हिंसा भडकिएको थियो । तर प्रहरीले उक्त भनाईको खण्डन गरेको छ ।

त्यसयता हजारौं आदिवासी पपुआ र अन्य सम्प्रदायका मानिसलाई उद्धार गर्नु परेको छ । सामाजिक संजालमा हिंसाका घटना दिनहुँ बढेको खबर फैलिएसँगै त्रासको वातावरण सिर्जना भएको थियो । तर पछिल्लो समय वामेनाका पसलहरु र विद्यालयहरु खुल्न थालेको पाइएको छ । हिंसाको भयका कारण अधिकांश विद्यार्थी विद्यालय नगई घरमै छन् । गत सातादेखि नै सरकारी कार्यालयहरु खुल्न थालेका छन् ।