४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
अ+ अ-

तनहुँ। तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ ।

वनमा काठजन्य प्रजातिमात्र सीमित नरही उच्च आर्थिक तथा औषधीय महत्वका जडीबुटीको उत्पादनतर्फ समुदाय अग्रसर भएपछि देवघाट क्षेत्र जडीबुटी खेतीको केन्द्र बन्न लागेको हो ।

देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले तनहुँ जिल्लामै पहिलो पटक सर्पगन्धाको व्यावसायिक खेती थालेको छ । समूहले गत आर्थिक वर्षदेखि चार रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपण गरेको छ । उक्त परियोजनामा डिभिजन वन कार्यालय तनहुँले रु चार लाख र मधुवन सामुदायिक वनले रु एक लाख दश हजार गरी कुल पाँच लाख १० हजार लगानी भएको छ ।

सर्पगन्धा खेती विस्तार गर्ने अभियानमा देवघाटका अन्य सामुदायिक वन पनि जोडिएका छन् । वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक वनले चार हजार र रानीवन सामुदायिक वनले एक हजार बिरुवा रोपेका छन् ।

यसैगरी कालिका सामुदायिक वन तथा वडा नम्बर १ को सुनझाँक्री सामुदायिक वनले प्राकृतिक रूपमा उम्रिएका सर्पगन्धाका बिरुवाको संरक्षण अभियान सुरु गरेका छन् । चालु आर्थिक वर्षभित्र थप बिरुवा रोपण गर्ने योजना समेत वन समूहहरूले बनाएका छन् ।

मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराम अधिकारीले सर्पगन्धाको महत्व र बजार सम्भावनालाई मध्यनजर गर्दै यसको व्यवसायिक खेती सुरु गरिएको बताउनुभयो । “सामुदायिक वनको आम्दानी बढाउनुका साथै वनलाई उत्पादनमुखी बनाउने उद्धेश्यले यो खेती सुरु गरेका हौं,” उहाँले भन्नुभयो, “गत वर्ष रोपिएका बिरुवाको संरक्षण, गोडमेल र विस्तार गर्दै आगामी वर्षहरूमा राम्रो आम्दानी लिन सकिने विश्वास छ ।”

चक्रवर्ती सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीका अनुसार वनमा फैलिएका झाडी हटाएर बहुमूल्य जडीबुटीको खेती गरिएको हो । “अबको दुई वर्षभित्र यसबाट प्रत्यक्ष आर्थिक लाभ लिन सकिने अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनहरूले आम्दानीका वैकल्पिक स्रोत खोज्नुपर्ने बताउँदै देवघाटको तल्लो भेगको हावापानी सर्पगन्धा खेतीका लागि उपयुक्त भएकाले भविष्यमा यसबाट उल्लेखनीय आम्दानी लिन सकिने बताउनुभयो ।

सव–डिभिजन वन कार्यालय देवघाटका अनुसार उपभोक्ताहरूलाई सर्पगन्धाको महत्व, उपयोगिता र बजार मूल्यबारे जानकारी गराइएपछि व्यवसायिक खेतीतर्फ आकर्षण बढेको हो । पहिले झाडी ठानेर नष्ट गरिने यो वनस्पति अहिले वन समूहहरूको प्राथमिकतामा पर्न थालेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार जिल्लामा हालसम्म देवघाटका सामुदायिक वनले मात्रै सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेका छन् ।

समुद्री सतहबाट दुई सयदेखि पाँच सय मिटर उचाइसम्मको भूभाग सर्पगन्धा खेतीका लागि उपयुक्त मानिन्छ । यही कारण देवघाटका वडा नम्बर १ र ५ बाहेकका अधिकांश क्षेत्रमा यसको खेती सम्भव नभएको वन कार्यालयले जनाएको छ ।

सर्पगन्धा (राउल्फिया) एक बहुवर्षीय सदाबहार औषधीय वनस्पति हो । यसको जरामा पाइने ‘रिसर्पिन’, ‘सर्पेन्टाइन’ र ‘एज्मालिन’ जस्ता वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निद्रा नलाग्ने समस्या, डिप्रेसन, मानसिक उत्तेजना तथा मिर्गी रोगको उपचारमा उपयोगी मानिन्छन् । रासस