१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल



अ+ अ-

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा केन्द्रित रहँदै बदलिँदो वैश्विक परिस्थितिअनुसार परिमार्जित र सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ‘प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृङ्खला’को पाँचौँ संस्करणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्तिहरूको मार्गनिर्देशन’ विषयक कार्यक्रममा मन्त्री खनालले अन्तर्राष्ट्रिय वातावरणमा भइरहेका गहन परिवर्तनहरू, प्रमुख शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र प्रविधिको तीव्र विकासले नेपाल जस्ता राष्ट्रका लागि चुनौती र अवसर दुवै सिर्जना गरेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालले यी परिवर्तनहरूलाई स्पष्टता, आत्मविश्वास र विवेकपूर्ण ढङ्गले सामना गर्नुपर्ने बताउनु भयो । मन्त्री खनालले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नता र शान्तिपूर्ण सहअस्तित्वमा दृढ रहेको पुनरावृत्ति गर्नुभयो । असंलग्नतालाई निष्क्रियताका रूपमा बुझ्न नहुने तर्क गर्दै उहाँले यसलाई राष्ट्रिय हितका आधारमा स्वतन्त्र निर्णय लिन सक्ने सक्रिय नीतिका रूपमा परिभाषित गर्नुपर्ने बताउनु भयो ।

कुटनीतिलाई मुलुकको आन्तरिक वस्तुस्थितिको प्रतिबिम्बका रूपमा अथ्र्याउँदै उहाँले भन्नुभयो, ‘स्वदेशमा राजनीतिक स्थिरता र आर्थिक प्रगति भए मात्र वैदेशिक क्षेत्रमा कुटनीतिक साख बलियो हुन्छ । त्यसैले सरकारले सुशासन र तिब्र आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ । नेपालको वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन । हामी सबै मित्र राष्ट्रहरूसँग सन्तुलित र रचनात्मक सम्बन्ध कायम राख्न चाहन्छौँ ।’

उहाँले हालको कुटनीति परिणाममुखी र विकास केन्द्रित हुनुपर्ने भन्दै विदेशस्थित नेपाली नियोगहरूलाई आर्थिक कुटनीति, व्यापार प्रवद्र्धन, लगानी आकर्षण र पर्यटन विकासमा परिचालन गरिएको जानकारी दिनुभयो । भू–राजनीतिलाई केवल अवरोधका रूपमा मात्र नहेरी यसलाई जोड्ने पुलका रूपमा सदुपयोग गर्नुपर्ने मन्त्री खनालको भनाइ थियो । –न्युज एजेन्सी नेपाल