२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु



अ+ अ-

काठमाडाैँ । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिने छ । गणना टोलीमा आठ जना सहभागी छन् ।

तीन वटा उपसमूह बनाएर तीन वटा ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार घोडाघोडी सिमसार क्षेत्रमा प्रत्येक वर्ष जाडो र गर्मीयाममा सूचक प्रजाति हरिहाँसको गणना गरिँदै आइएको छ ।

जाडोयामको तुलनामा गर्मीयाममा हरिहाँसको सङ्ख्यामा कमी आउने उहाँले बताउनुभयो । डगौराका अनुसार कैलालीको भजनी नगरपालिकास्थित लौकाहा–भौकाहा, घोरताल तथा सोनियाँ–रुपियाँलगायत सिमसार क्षेत्रमा हरिहाँसले प्रजनन (ब्रिडिङ) गर्ने गर्दछन् । प्रजननका लागि हरिहाँस जिल्लाका विभिन्न सिमसार क्षेत्रमा फैलिने भएकाले गर्मीयाममा घोडाघोडी क्षेत्रमा यसको सङ्ख्या जाडोयामको तुलनामा कम देखिने गरेको उहाँले बताउनुभयो ।

गर्मीयामको गणनाअनुसार सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ वटा हरिहाँस यहाँ अभिलेख भएका छन् । जाडोयाममा भने सन् २०२२ मा ३९४, सन् २०२३ मा ३१६ र सन् २०२४ मा ४११ पुगेको थियो । सन् २०२५ मा यो सङ्ख्या घटेर ३७२ मा झरेको थियो । सन् २०२६ को जाडोयाममा भने हरिहाँसको सङ्ख्या ४२९ पुगेको तथ्याङ्क छ । सोही अवधिमा अन्य जलपंक्षीको सङ्ख्या भने क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ । यस वर्षको गर्मीयामको गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक अवस्था, वितरण तथा सङ्ख्याको विस्तृत विवरण सार्वजनिक गरिने पन्छी संरक्षण सङ्घका अधिकृत डगौराले बताउनुभयो ।

हरिहाँससँगै घोडाघोडी सिमसार क्षेत्रमा पाइने अन्य जलपन्छीको पनि गणना गरिने उहाँले जानकारी दिनुभयो । घोडाघोडी ताल तराइकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ  । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यतिबेला हरिहाँसको सङ्ख्या एक हजार थियो । घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।