१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई



अ+ अ-

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ।

राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको फाउण्डेशनले जनाएको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार जननेता मदनकुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउण्डेशनले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ।

फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उहाँको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने नीतिअनुसार स्वतन्त्र तीन सदस्यीय छनोट समितिको सिफारिसका आधारमा राईको कृति छनोट गरिएको हो।

इलामको सूर्योदय नगरपालिका–११, केराबारी निवासी राई लामो समयदेखि नेपाली राजनीति, विकास र समसामयिक विषयका स्वतन्त्र अध्येता तथा अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्। उनको कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ ले मदन भण्डारीको जीवन, व्यक्तित्व, राजनीतिक यात्रा तथा वैचारिक योगदानलाई तथ्यपरक, अनुसन्धानमूलक र विश्वसनीय ढंगले प्रस्तुत गरेको भन्दै छनोट समितिले उच्च मूल्याङ्कन गरेको फाउण्डेशनले जनाएको छ।

पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिनेछ। पुरस्कार आगामी असार १४ गते आइतबार दिउँसो २ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने कार्यक्रम छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने समारोहमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठी पनि आयोजना गरिनेछ।

गोष्ठीमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अतिथि वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनले पुरस्कारप्राप्त स्रष्टा रमेश रुछेन राईलाई बधाई ज्ञापन गर्दै उनको सिर्जनात्मक तथा अनुसन्धानमूलक यात्राको निरन्तर सफलताको शुभकामना व्यक्त गरेको छ। साथै, कार्यक्रममा सञ्चारकर्मी तथा सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि अनुरोध पनि गरेको छ।