३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महराको बहिर्गमनले भूमरीमा उपसभामुख तुम्बाहाङफे !

महराको बहिर्गमनले भूमरीमा उपसभामुख तुम्बाहाङफे !
अ+ अ-

काठमाडौँ — २०७४ चैत २ मा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर पाउनेभन्दा पनि आफैंले लिने हो ।’ चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचित थिइन् ।

पूर्व सभामुख महरालाइ प्रहरीले निवासबाट पक्राउ गर्दै । (तस्वीरः रासस)

जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरूतिर जस्तै उनी आबद्ध तत्कालीन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ति हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेकाहरू पनि भटाभट अघि बढ्दा कताकता अलमलिएझैँ महसुस गर्थिन् । राजनीतिक जीवन सुरु गरेको ३९ वर्षपछि भने उनी संसद्को दैलोभित्र छिर्न पाइन् । त्यो बीचमा पञ्चायत, बहुदल र लोकतान्त्रिक चरित्रमा संसद्का कैयौं अधिवेशन चलिसकेका थिए । तुम्बाहाङफेका लागि एउटा सुखद संयोग पनि यही बेला जुर्‍यो, प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भइन् ।
करिब चार दशकसम्म राजनीतिक चक्रव्यूहबाट उम्किएर आएकाले नै हुनुपर्छ, उनले संसद्लाई आफ्नो क्षमता देखाउने उपयुक्त थलो ठानिन् । शुक्रबार कान्तिपुरसँग तुम्बाहाङफे यही भनिरहेकी थिइन् । ‘उप हुँदैमा केही, कुनै पनि भूमिका नै हुँदैन भन्ने होइन, कानुनले दिएको भूमिका आफैंले पनि खोज्नुपर्छ,’ उनले भनिन्, ‘मैले त्यही गरेँ ।’
संसद्मा उनको अहिलेसम्मकै सक्रिय उपसभामुखको छवि छ तर यो संसद्को आयु झन्डै ३ वर्ष बाँकी छँदै सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा पनि धरमरमा देखिएको छ । उनी एउटा सिँढी अझै उक्लिएर सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अलि अप्ठ्यारो देखाएका छन् । तुम्बाहाङफे कानुनकी विद्यार्थी हुन्, राजनीति बांगोटिंगो बाटामा हिँड्छ भन्ने उनलाई पनि थाहा छ ।
तत्कालीन वाम गठबन्धनमा सभामुख माओवादी पक्षलाई परेको थियो । पार्टी एक भएर नेकपा बनिसकेको भए पनि कतिपय प्रक्रियागत कुरा नमिलेकाले सभामुख पद पूर्वमाओवादी पक्षकै भागमा पर्ने कतिपयको तर्क छ । यो तर्कसँग प्रधानमन्त्री र नेकपाको नेतृत्व सहमत हुने हो भने तुम्बाहाङफेको पद धरापमा छ ।
संविधानमा एउटै राजनीतिक दलबाट सभामुख र उपसभामुख बनाउन नपाइने व्यवस्था छ । पूर्वमाओवादी पक्षधरले सभामुख आफैंलाई चाहिने दाबी गर्दा तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा त दिनुपर्छ नै, पूर्वएमालेको पृष्ठभूमिबाट आएकाका लागि सभामुख बन्ने ढोका पनि बन्द हुनेछ । सभामुख नबनाउने हो भने ‘म राजीनामा दिन्नँ’ भन्ने तर्क उनी अघि सार्न पनि सक्छिन् तर राजनीतिक दलसम्बन्धी ऐनले संसद्को पदाधिकारीमा चयन हुनुलाई दल त्याग गरेको नमान्ने भएकाले ‘पार्टीको निर्देशन मान्दिनँ’ भन्न सक्ने अवस्था सम्भवत:आउनेछैन तर महराका कारण आफूलाईअप्ठ्यारामा पार्न नहुने तर्क तुम्बाहाङफेको छ ।
‘महराको गल्तीमा मैले किन सजाय पाउने ?’ तुम्बाहाम्फेले आफू निकटहरूलाई यसो भन्न थालेकी छन् । उनको तर्कसँग पूर्वएमालेका केही नेता पनि सहमत छन् । पार्टी एकीकरण भइसकेकाले अब पनि पूर्वएमाले र पूर्वमाओवादी भनिरहन आवश्यक नभएको उनीहरूको जिकिर छ । नेकपामा उक्त समूह तुम्बाहाङफेलाई उपसभामुखबाट राजीनामा गराएर सभामुख नै बनाउने पक्षमा देखिएको छ तर त्यो मत उति बलियो छैन ।
यस बीचमा उपसभामुख तुम्बाहाङफेसँग प्रधानमन्त्री ओलीको एकपटक भेट भएको छ । गत आइतबार प्रधानमन्त्रीसँग आफैं समय लिएर गएकी उनले संसद्को पछिल्लो व्यवस्थापकीय र प्रशासनिक कामबारे जानकारी गराइन् । उनीहरूबीच संसद् अधिवेशन कहिले डाक्ने भन्ने विषयमा कुराकानी पनि भयो तर भावी सभामुखबारे छलफल नभएको उनले बताइन् ।
‘सभामुख को बन्ने भन्नेबारे प्रधानमन्त्रीसँग मात्रै होइन, अरू कसैसँग पनि मेरो कुराकानी भएको छैन, उहाँहरूले सोध्नुभयो भने मेरो धारणा राख्नेछु,’ उनले भनिन् । पार्टीभित्र भने भावी सभामुखका लागि नाडी छाम्न सुरु भइसकेको छ । उनलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने कि भन्नेसम्मको छलफलले पनि नेकपा गर्माएको छ । अर्कातिर पूर्वमाओवादीभित्र पछि जोडिन आएका रामबहादुर थापा समूह र अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र मानिएका नेताहरूका समूहबीच भावी सभामुखका रूपमाआआफ्नो दाबी पेस गर्ने होडबाजी चलिरहेको छ ।
पूर्वएमाले समूह तुम्बाहाङफेका नाममा सर्वसम्मति हुँदैन भने अरू उपयुक्त पात्र खोजेर भए पनि सभामुख आफ्नै पक्षले राख्नुपर्ने पक्षमा छ । उनीहरूले पूर्वसभामुख सुवास नेम्बाङलाई त्यस्तो उपयुक्त पात्रका रूपमा हेरिरहेको स्रोतहरू बताउँछन् । ‘महरा सभामुख हुँदा सरकारका कतिपय काममा संसद्बाट सहयोग भएन, त्यसैले पनि हामी प्रधानमन्त्रीले विश्वास गर्न सक्ने मान्छे नै सभामुख हुनुपर्छ भन्ने पक्षमा छौं,’ पूर्वएमालेका एक नेताले कान्तिपुरसँग भने ।
तुम्बाहाङफेले आफू मात्रै होइन, सातै प्रदेशसभाका उपसभामुखलाई आफ्नो जिम्मेवारीमा अब्बल बनाउन भूमिका खेलिन् । उपसभामुखहरूको भेला गराइन्, नेतृत्व लिन आफैं अग्रसर हुनुपर्छ भन्ने निचोडमा पुग्ने छलफलको अगुवाइ गरिन् । पुरुषै पुरुष नेताहरूका बीचमा हुँदा पनि अग्रसर भएर बोलिन्, आफ्ना कुरा निर्धक्क भएर राखिन् ।
अहिले तुम्बाहाङफे राजनीतिक दाउपेच र भागबन्डाको भुमरीभित्र छिन् । ‘सभामुख पदको दाबेदार हो’ भन्ने प्रश्नमा उनको जवाफ केही छैन । ‘केही समयअघि भएको उपसभामुखको भेलाले अवसर पाउँदा उपसभामुख जुनसुकै पदमा बसेर पनि भूमिका निर्वाह गर्न सक्छन् भन्ने निष्कर्ष निकालेको छ,’ उनी कूटनीतिक जवाफ दिन्छिन् तर पछिल्ला दौडधुपले संसद्मा तुम्बाहाङफेको जबर्जस्त उपस्थितिलाई छायामा पार्दै लगिरहेका छन् । परिपक्व भइनसकेको पार्टी एकीकरणको शक्ति सन्तुलनको भुंग्रोमा उनी पर्ने सम्भावना धेरै छ । कान्तिपुर दैनिकमा बिनु सुवेदी लेख्छिन् ।