१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर



अ+ अ-

काठमाडौं। जब काठमाडौंको व्यस्त कोलाहल सकिन्छ र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेदीमा सुन्दरीजलको पहिलो झरना सुसाइरहेको सुनिन्छ, त्यहाँ प्रकृति एउटा पवित्र मन्दिर जस्तो देखिन्छ ।

वागमती नदी यहाँ जति कञ्चन र निर्मल बग्छिन्, त्यति नै निर्मल र कञ्चन छ यस क्षेत्रका किसानको मन । तर यो कञ्चन शिरको तल्लो फेदीमा जब असारको वर्षा शुरु हुन्छ, त्यहाँको कथा बदलिन्छ । सुन्दरीजलका भिराला कान्ला र सिँढी जस्ता गराहरूमा वर्षाको पवित्र पानी मात्र बग्दैन, त्यहाँ बग्छ किसानको निधारबाट चुहिएको पसिनाको सुवास ।

असार १५ नजिकिँदै गर्दा, यहाँका हिलाम्मे गराहरू एउटा यस्तो रङ्गमञ्च बन्छन् जहाँ जीवनको सबैभन्दा कठिन र सुन्दर नाटक मञ्चन हुन्छ । यहाँ माटो र मानिसको सम्बन्ध यति गहिरो छ कि माटोले आफ्नो अस्तित्व धान्न किसानको हात खोज्छ र किसानले आफ्नो प्राण धान्न त्यही हिलो सुम्सुम्याउँछ ।

सडकबाट हेर्दा रोपाईं एउटा रमणीय उत्सव देखिन्छ । पहेंलो वा नीलो बर्साती ओढेर हिलोमा रमाइरहेका नारीहरू, हल गोरु नारेर खेत हिल्याइरहेका पुरुषहरू र हरियो बीउका मुठाहरू हावामा उडिरहेका दृश्यहरू । तर यो रमाइलो क्यामेराको लेन्समा मात्र सिमित छ । हिलोमा उभिएका किसानका गोडा चिसो र हिलोको संक्रमण (हिलोले खाने रोग) ले खाएको हुन्छ । दिनभर निहुरिएर धान रोप्दा ढाड फलामे डण्डी झैं कसिन्छ ।

किसानका हातका औंलाहरू रोपाईंको हिलोमा गाडिएका छन् । किसान त माटोका पुजारी हुन् । जति दुःख भएपनि असारमा यो हिलो नछुँदा छाती कुँडिन्छ । जहाँ दुःख पीडा एउटा रमाइलो गीत र कर्तव्यको छाताभित्र लुकाइन्छ ।

धान रोप्दा रोप्दै सुनिने ‘असारे महिनामा पानी परी रुझाउने’ केवल एउटा लोकगीत मात्र होइन, यो दुःखाइ कम गर्ने एउटा सामाजिक ओखती हो । जब खेतका खेतालाहरू एउटा स्वरमा हातेमालो गर्दै गाउँछन्, तब उनीहरूको थकाई मेटिन्छ । यो भाकाभित्र ऋणको बोझ, साहुको गाली, छोराछोरीको भविष्यको चिन्ता, र परदेश गएका श्रीमान वा भाइको सम्झना लुकेको हुन्छ ।

गीत गाउँदा गाउँदै बग्रेल्ती आँसु हिलोमा खस्छन् र माटोभित्रै बिलिन हुन्छन् । हिलोमा खसेको त्यो आँसु नै भोली फल्ने सुगन्धित चामलको दाना बन्छ । यो दुःखलाई सिर्जनामा बदल्ने अनुपम क्षमता केवल नेपाली किसानसँग मात्र छ । सुन्दरीजलको पहाडी हावाले तिनीहरूको सुस्केरा पहाडका टाकुराहरूसम्म पु¥याउँछ । सुन्दरीजल क्षेत्रका खेतहरू विस्तारै कंक्रिटका घरहरूमा परिणत हुँदैछन् ।

युवाहरू विदेश पलायन भइरहेका छन्, जसले गर्दा खेतमा रोपाईं गर्ने जनशक्ति वृद्धवृद्धा मात्र बाँकी छन् । हिजोका दिनमा जस्तो पञ्चेबाजा बजाएर उत्सवमय रूपमा गरिने रोपाईं अब केवल सम्झनामा सिमित हुँदै गएको छ । यो हुनु नेपाली ग्रामीण अर्थतन्त्र र मौलिक संस्कृतिको लागि एउटा ठूलो चुनौती हो ।

ती कचेरा परेका आँखा र धाँजा फाटेका हातहरू अझैसम्म यो माटोलाई बाँझो राख्न चाहँदैनन् । तिनीहरू भन्छन्, ‘हामीले खेती छाड्यौं भने यो देशले के खान्छ ? शहरका घर सुकिला होलान्, तर हाम्रा हिलाम्मे हातले नै तिनको पेट भर्ने हो ।’ हाम्रा किसानका यी शब्दमा एउटा दिव्य राष्ट्रभक्ति झल्किन्छ, जसलाई हामीले चिन्न र सम्मान गर्न ढिलो भइसकेको छ ।

माटो र पानीको संगम केवल फोहोर होइन, यो नयाँ जीवनको गर्भाधान हो। किसानका लागि हिलो भनेको सुन जन्माउने पवित्र कोख हो । आकाशबाट बस्ने पानी भगवानको आशीर्वाद मात्र होइन, यो प्रकृतिले किसानको पसिनासँग मिसाउन पठाएको आँसु पनि हो । बीउ केवल भविष्यको अन्न होइन, यो माटोमा गाडिएको किसानको सपना हो जसले भोक विरुद्ध युद्ध लड्छ ।

चिरिएका र फुटेका हत्केलाहरू दुःखका प्रतिक मात्र होइनन्, यी त माटोलाई सुन्दर बनाउने सृष्टिकर्ताका हस्ताक्षर हुन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल