न्यूजपोलार ए.आई.
- अनुसन्धानमा पाश्चात्य सिद्धान्तमा मात्र निर्भर नभई वैदिक, बौद्ध, जैन र योग दर्शनलाई पनि समेट्नुपर्ने
- आत्मज्ञान, नैतिकता, चेतना र जीवनदर्शनले अनुसन्धानमा नयाँ दृष्टिकोण ल्याउन सक्ने
- ज्ञानको दायरा विस्तार, मानसिक स्वास्थ्य सुधार र आध्यात्मिक चेतना वृद्धि हुने
- तनाव, चिन्ता र मानसिक थकान कम गरी अनुसन्धानकर्ताको एकाग्रता र कार्यक्षमता बढाउन सक्ने तर्क।
- प्राचीन ज्ञानलाई आधुनिक वैज्ञानिक पद्धतिसँग समायोजन गरी विश्वस्तरमा स्थापित गर्ने आवश्यकता
काठमाडौँ, ६ असारः आजको वैज्ञानिक युगमा अनुसन्धान भन्नासाथ हामी प्रायःपाश्चात्य सिद्धान्तमा आधारित एक प्रयोगशाला, तथ्याङ्क र मापनयोग्य परिणामलाई नै केन्द्रमा राख्ने गर्छौं । जब हामी कुनै अनुसन्धानको सुरुआत गर्छौं तब त्यो अनुसन्धानको सैद्धान्तिक आधारका लागि हाम्रो अवधारणासँग मिल्दोजुल्दो पाश्चात्य सिद्धान्त के छ, खोज्न थाल्छौँ । त्यसैलाई आधार मानेर अनुसन्धान गर्छौं र निष्कर्ष निकाल्छौँ ।
तर, अनुसन्धानको सुरुकै चरणमा हामीले हाम्रो पूर्वीय दर्शन कति सम्पन्न छ भनेर खोज्ने प्रयास भने गर्दैनौँ । हामीले हाम्रो पूर्वीय दर्शनको गहन इतिहास, आध्यात्मिकता र चिन्तनले अनुसन्धानलाई नयाँ आयाम दिनसक्छ भन्ने विषयसम्मै पुग्दैनौँ । पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनसक्ने प्रशस्त सैद्धान्तिक आधार हामीसँगै छन् ।
यदि पूर्वीय दर्शनको गहनतामाथि यथेष्ट चिन्तन अघि बढायौँ र सैद्धान्तिक आवश्यकतामा यसको प्रयोग गर्यौँ भने यसबाट हाम्रो शैक्षिक गतिविधिमा नयाँ आयाम त थपिनेछ । त्यसपछि विश्वसामु हाम्रो पूर्वीय दर्शनले दिने ज्ञानलाई नै एक प्रमाणित र प्रामाणिक सिद्धान्तका रुपमा स्थापना गर्न सक्नेछौँ ।
पूर्वीय दर्शनको ज्ञानलाई अनुसन्धानसँग जोड्न सकेमा अनुसन्धानकर्ताको शैक्षिक जीवनमा ठूलो परिवर्तन ल्याई गुणात्मकता पनि थप्ने छ । साथै हाम्रै सभ्यता र मौलिकताको पूर्वीय दर्शनलाई प्रयोेगमात्र गर्यौँ भने पनि हाम्रो शिक्षा पद्दतिमा गुणात्मक परिवर्तन ल्याउन सकिनेछ । यसबाट विद्यार्थीको ज्ञानको दायरा अहिलेको भन्दा कैयौँगुणा फराकिलो बनाउन सघाउ पुग्नेछ । यसबाट अध्ययन अनुसन्धानकर्ताको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन र अध्यात्मिक चेतना वृद्धि हुने त छँदैछ । यस्ता शैक्षिक जनशक्तिमा आउने यसप्रकारका परिवर्तनको अनन्त लाभ व्यक्तिमा मात्र सीमित नरहेर समाज र राष्ट्रसम्म नै पुग्नेछ । एकातर्फ हाम्रा दर्शन र सिद्धान्तहरु विश्वका अनुसन्धानदातासमक्ष छाउनेछन् भने अर्कातर्फ हाम्रा शैक्षिक जनशक्ति पनि सकारात्मक सोचले पूर्ण र अध्यात्मिक चेतले भरिपूर्ण भएर आउनेछन् ।
पूर्वीय दर्शन विशेषगरी वैदिक, बौद्ध, जैन र योग दर्शन, हजारौँ वर्ष पुराना रहेको तथ्य त सबैमा विदितै छ । तर अहिलेसम्म यी ज्ञानका महासागरहरुलाई हामीले भने केबल धार्मिक मान्यताको परिधिभित्र मात्र सीमित पारिरहेका छौँ । यी अद्वितीय दर्शनहरुले मानवीय चेतना, ज्ञानको स्वरूप, नैतिकता र सदाचार, ब्रह्माण्डीय सत्यको खोजी आदिलाई केन्द्रबिन्दु बनाएका छन् । यति सम्पन्न यी दर्शनलाई हामीले धर्म र पौराणिकतामा मात्र राखेर बुझ्न र अध्ययन गर्न खोज्दा हामी नै पछिपरिरहेको अनुभूति हुनु स्वाभाविकै हो । उपनिषद्, पतञ्जलिको योगसूत्र, गीता, बुद्धका वचन, महावीर र अन्य धेरै ऋषिमुनि, सन्तहरुका अलौकिक उपदेश पूर्वीय ज्ञानका आधारस्तम्भ नै हुन् ।
यी दर्शनले व्यक्तिभित्रको आत्मज्ञान र बाह्य प्रकृतिबीचको सन्तुलनलाई बडो आकर्षक रुपमा जोड दिएका छन् । जुन कुरा एक अनुसन्धानको मूल मर्मसँग पनि मेल खान्छ । एक अनुसन्धानकर्ताले पनि ‘३ पी’ अर्थात् (पर्सन, प्लेस र प्रोबलम) को सुत्रः कुनै एक निश्चित भूगोलमा बस्ने व्यक्ति/समुदायले भोगेको वा अनुभव गरेको समस्यालाई आधार मानेर नै अनुसन्धान सुरु गर्ने हो ।
पूर्वीय दर्शनले दिने मुख्य ज्ञान भनेको आफूभित्रको सत्य बुझेर मात्र बाह्य सत्यको अनुभव सम्भव छ भन्ने नै हो । यसले आफैँमा अरुलाई खोज्नु अर्थात् आफूभित्रको सत्य नै अरुमा खोज्नु र तथ्य पत्ता लगाउनु हो भन्दछ । सारमा यसले बुझाउन खोजेको विषय भनेको सबै वस्तु आपसमा जोडिएका छन् (अन्तरसम्बन्धत्व), ज्ञानको अन्तिम लक्ष्य आनन्द र शान्ति हो, दुःखको मूल कारण आशक्ति र अज्ञानता हो, ध्यान, योग र आत्मचिन्तनबाट मात्र वास्तविक ज्ञान पैदा हुन्छ भन्ने हो । यही ज्ञानले नै कुनै एक अनुसन्धानकर्ताले कस्तो विषयमा अनुसन्धान गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने वास्तविकतालाई निर्देशित गर्छ । यसमा अनुसन्धानका विधि त विषयवस्तुको गहिराइ अनुसारका हुने नै भए ।
पूर्वीय दर्शन केबल धार्मिक, पौराणिक आस्था मात्र होइन, नत सुन्ने परम्परा अर्थात् श्रुत ज्ञानहरुको सङ्ग्रह मात्र हो । यो त मानवीय पूर्ण चेतनाको परिष्कृतस्वरुप एवं जीवन रुपान्तरणको गहन र विशिष्ठ विज्ञान हो । यसले बाह्य संसारलाई भन्दाबढी आत्मअन्वेषण, विवेक र अनुभूतिलाई महत्व दिन्छ र जीवन र जगत्का जटिल समस्याहरूको पनि मूल कारण खोजेर समाधानका लागि आवश्यक दृष्टि प्रदान गर्दछ । हाम्रा छरिएर रहेका वैदिक, बौद्ध, जैन तथा अन्य दर्शन तथा दार्शनिक परम्पराका ज्ञानहरूलाई एकीकृत सिद्धान्तका रूपमा विकास गर्न सकिने अनेकन आधार र तथ्यहरु हामीसँगै छन् । यसो गर्न सकियो भने त्यसले केबल बौद्धिक सम्पदा समृद्ध बनाउने मात्र होइन, आधुनिक चुनौतीहरूको समाधानका लागि पनि मौलिक तथा वैचारिक आधारहरु निर्माण गर्न सक्दछ । मलाई लाग्दछ, पूर्वीय दर्शनले हामीलाई अनुकरणमा मात्र होइन, आफ्नै चिन्तन, विश्लेषण र आत्मबोधमा आधारित दार्शनिक आत्मनिर्भरतातर्फ उन्मुख गराउँछ ।
हालको प्रतिस्पर्धात्मक शिक्षा प्रणाली, आधुनिकीकरण र कृत्रिम बुद्धिमताले विद्यार्थीमा मानसिक दबाब बढाएको पक्कै छ । यो दबाबले उनीहरुलाई तनावसमेत दिन थालेको छ । यसकारण उनीहरु एकाग्र र धैर्य बन्न पनि सकिरहेका छैनन् । त्यसकारण आफ्ना जीवनमा सफलता र समृद्धिको खोजिका लागि उनीहरु दशतिर कुद्नुपर्ने अवस्था सिर्जना भएको छ । यो दौडधूपले उनीहरुलाई केही हदसम्म भौतिक सुख त दिएको छ, तर मानसिक रुपमा भने दुःखी बनाइदिएको छ ।
यस्तो अवस्थामा पूर्वीय ज्ञानको प्राप्तिले उनीहरुको व्यावहारिक पक्ष बलियो बनाउने छ । यसका लागि योग, प्राणायाम र आसनको वैज्ञानिक अध्ययन उचित हुन सक्छ । कुनै पनि व्यक्ति तथा अनुसन्धानकर्ताको बसाइको मुद्रा, सासको सजगता र नियमित योगले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न सक्छ । हृदय स्वास्थ्य र ऊर्जाको स्तर सुधार गर्छ । पूर्वीय दर्शनले विशेषगरी ध्यान (मेडिटेसन) र सजगता (माइन्डफुलनेस) बाट तनाव, चिन्ता र अवसाद (डिप्रेसन) घटाउन मद्दत गर्छ । अनुसन्धानकर्ताका लागि धेरै घण्टासम्म एकाग्र भएर काम गर्दा मानसिक थकान हुन्छ । यस्तो अवस्थामा बुद्धको शिक्षा ‘सम्यक स्मृति (माइन्डफुलनेस)’ ले यस्तो थकान घटाएर भावनात्मक सन्तुलन कायम राख्न सक्छ । अध्ययन अनुसन्धानकर्ताहरुका लागि यी पद्दतिहरु अहिले अचुक औषधि पनि बनिरहेका छन् ।
हाम्रा पूर्वीय दर्शनलाई सिद्धान्तका रुपमा स्थापित गर्न सकिने केही उदाहरणहरु जस्तैः गौतम बुद्धद्वारा प्रतिपादित चार आर्य सत्य बौद्ध दर्शनको मूल आधार हो । यी सत्यहरूले मानव जीवनको दुःख, त्यसको कारण, समाधान र समाधानतर्फ जाने मार्गलाई स्पष्ट व्याख्या गर्छन् । यसलाई मानव जीवनका दुःख बुझ्ने वा त्यसको निवारण गर्ने एक सिद्धान्तका रुपमा स्थापना गर्न सकिन्छ । यसो गर्दा हाम्रा लाखौँ युवालाई दुःखको अनुभूतिबाट मुक्त गरेर शान्ति र सुखानुभूतिको मार्गमा डो¥याउन सकिन्छ ।
यो नै राष्ट्र निर्माणमा टेवा पुर्याउनसक्ने जनशक्ति हो । यसरी नै बुद्धका त्रिरत्न (‘बुद्धम् शरणम् गच्छामी’, ‘धम्मम् शरणम् गच्छामी’ र ‘सङ्गम शरणम् गच्छामी’) लाई ज्ञानको व्यवस्थापन वा ज्ञानको दिगोपनाको सिद्धान्त बनाउन सकिन्छ । मुण्डकोपनिषदमा ज्ञानलाई दुई भाग परा विद्या (उच्च ज्ञान÷आध्यात्मिक ज्ञान) र अपरा विद्या (निम्न ज्ञान÷सांसारिक ज्ञान) मा वर्गीकरण गरिएको छ । यसका आधारमा पनि ज्ञानको अध्ययन गर्न सकिन्छ ।
हाम्रो पूर्वीय दर्शनले जीवनका हरेक आयाम र अवस्थाको व्याख्या गरेको मात्र छैन, समस्याको समाधानका आधार पनि तयार पारेको छ । तर अब यसको गहन अध्ययन गरेर शिक्षा र अनुसन्धानमा समावेश गरी उच्च तहमा हुने अनुसन्धानमा सैद्धान्तिक आधार-मार्गचित्र बनाउन जरुरी छ । यसका लागि प्राज्ञिक व्यक्ति तथा अनुसन्धानकर्ताहरुको जोडबल आवश्यक छ । पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनु भनेको प्राचीन ज्ञानलाई आधुनिक वैज्ञानिक पद्धतिसँगै समायोजन गर्नु पनि हो ।
यसले अनुसन्धानकर्तालाई केबल तथ्य सङ्कलन गर्ने मेसिन मात्र बनाउँदैन, बरु संवेदनशील, सन्तुलित र समाजोपयोगी चिन्तक बनाउँछ । नेपालजस्तो सनातन पूर्वीय ज्ञानको भूमिमा प्राज्ञिक व्यक्तिहरुले यस विषयमा राष्ट्रिय बहस थाल्नु अतिआवश्यक छ किनभने आजको युगलाई समृद्धि र शान्ति दिने तथा जीवन र जगत्का हर समस्याको समाधान दिनसक्ने अनुसन्धानको जग नै पूर्वीय दर्शन हुनसक्छ ।
(डा कार्की नेपाल फिलसफिकल रिसर्च सेन्टरका अध्यक्ष हुनुहुन्छ)











