२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ

पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ
अ अ+ अ-

काठमाडौँ, ६ असारः आजको वैज्ञानिक युगमा अनुसन्धान भन्नासाथ हामी प्रायःपाश्चात्य सिद्धान्तमा आधारित एक प्रयोगशाला, तथ्याङ्क र मापनयोग्य परिणामलाई नै केन्द्रमा राख्ने गर्छौं । जब हामी कुनै अनुसन्धानको सुरुआत गर्छौं तब त्यो अनुसन्धानको सैद्धान्तिक आधारका लागि हाम्रो अवधारणासँग मिल्दोजुल्दो पाश्चात्य सिद्धान्त के छ, खोज्न थाल्छौँ । त्यसैलाई आधार मानेर अनुसन्धान गर्छौं र निष्कर्ष निकाल्छौँ ।

तर, अनुसन्धानको सुरुकै चरणमा हामीले हाम्रो पूर्वीय दर्शन कति सम्पन्न छ भनेर खोज्ने प्रयास भने गर्दैनौँ । हामीले हाम्रो पूर्वीय दर्शनको गहन इतिहास, आध्यात्मिकता र चिन्तनले अनुसन्धानलाई नयाँ आयाम दिनसक्छ भन्ने विषयसम्मै पुग्दैनौँ । पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनसक्ने प्रशस्त सैद्धान्तिक आधार हामीसँगै छन् ।

यदि पूर्वीय दर्शनको गहनतामाथि यथेष्ट चिन्तन अघि बढायौँ र सैद्धान्तिक आवश्यकतामा यसको प्रयोग गर्यौँ भने यसबाट हाम्रो शैक्षिक गतिविधिमा नयाँ आयाम त थपिनेछ । त्यसपछि विश्वसामु हाम्रो पूर्वीय दर्शनले दिने ज्ञानलाई नै एक प्रमाणित र प्रामाणिक सिद्धान्तका रुपमा स्थापना गर्न सक्नेछौँ ।

पूर्वीय दर्शनको ज्ञानलाई अनुसन्धानसँग जोड्न सकेमा अनुसन्धानकर्ताको शैक्षिक जीवनमा ठूलो परिवर्तन ल्याई गुणात्मकता पनि थप्ने छ । साथै हाम्रै सभ्यता र मौलिकताको पूर्वीय दर्शनलाई प्रयोेगमात्र गर्यौँ भने पनि हाम्रो शिक्षा पद्दतिमा गुणात्मक परिवर्तन ल्याउन सकिनेछ । यसबाट विद्यार्थीको ज्ञानको दायरा अहिलेको भन्दा कैयौँगुणा फराकिलो बनाउन सघाउ पुग्नेछ । यसबाट अध्ययन अनुसन्धानकर्ताको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन र अध्यात्मिक चेतना वृद्धि हुने त छँदैछ । यस्ता शैक्षिक जनशक्तिमा आउने यसप्रकारका परिवर्तनको अनन्त लाभ व्यक्तिमा मात्र सीमित नरहेर समाज र राष्ट्रसम्म नै पुग्नेछ । एकातर्फ हाम्रा दर्शन र सिद्धान्तहरु विश्वका अनुसन्धानदातासमक्ष छाउनेछन् भने अर्कातर्फ हाम्रा शैक्षिक जनशक्ति पनि सकारात्मक सोचले पूर्ण र अध्यात्मिक चेतले भरिपूर्ण भएर आउनेछन् ।

पूर्वीय दर्शन विशेषगरी वैदिक, बौद्ध, जैन र योग दर्शन, हजारौँ वर्ष पुराना रहेको तथ्य त सबैमा विदितै छ । तर अहिलेसम्म यी ज्ञानका महासागरहरुलाई हामीले भने केबल धार्मिक मान्यताको परिधिभित्र मात्र सीमित पारिरहेका छौँ । यी अद्वितीय दर्शनहरुले मानवीय चेतना, ज्ञानको स्वरूप, नैतिकता र सदाचार, ब्रह्माण्डीय सत्यको खोजी आदिलाई केन्द्रबिन्दु बनाएका छन् । यति सम्पन्न यी दर्शनलाई हामीले धर्म र पौराणिकतामा मात्र राखेर बुझ्न र अध्ययन गर्न खोज्दा हामी नै पछिपरिरहेको अनुभूति हुनु स्वाभाविकै हो । उपनिषद्, पतञ्जलिको योगसूत्र, गीता, बुद्धका वचन, महावीर र अन्य धेरै ऋषिमुनि, सन्तहरुका अलौकिक उपदेश पूर्वीय ज्ञानका आधारस्तम्भ नै हुन् ।

यी दर्शनले व्यक्तिभित्रको आत्मज्ञान र बाह्य प्रकृतिबीचको सन्तुलनलाई बडो आकर्षक रुपमा जोड दिएका छन् । जुन कुरा एक अनुसन्धानको मूल मर्मसँग पनि मेल खान्छ । एक अनुसन्धानकर्ताले पनि ‘३ पी’ अर्थात् (पर्सन, प्लेस र प्रोबलम) को सुत्रः कुनै एक निश्चित भूगोलमा बस्ने व्यक्ति/समुदायले भोगेको वा अनुभव गरेको समस्यालाई आधार मानेर नै अनुसन्धान सुरु गर्ने हो ।

पूर्वीय दर्शनले दिने मुख्य ज्ञान भनेको आफूभित्रको सत्य बुझेर मात्र बाह्य सत्यको अनुभव सम्भव छ भन्ने नै हो । यसले आफैँमा अरुलाई खोज्नु अर्थात् आफूभित्रको सत्य नै अरुमा खोज्नु र तथ्य पत्ता लगाउनु हो भन्दछ । सारमा यसले बुझाउन खोजेको विषय भनेको सबै वस्तु आपसमा जोडिएका छन् (अन्तरसम्बन्धत्व), ज्ञानको अन्तिम लक्ष्य आनन्द र शान्ति हो, दुःखको मूल कारण आशक्ति र अज्ञानता हो, ध्यान, योग र आत्मचिन्तनबाट मात्र वास्तविक ज्ञान पैदा हुन्छ भन्ने हो । यही ज्ञानले नै कुनै एक अनुसन्धानकर्ताले कस्तो विषयमा अनुसन्धान गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने वास्तविकतालाई निर्देशित गर्छ । यसमा अनुसन्धानका विधि त विषयवस्तुको गहिराइ अनुसारका हुने नै भए ।

पूर्वीय दर्शन केबल धार्मिक, पौराणिक आस्था मात्र होइन, नत सुन्ने परम्परा अर्थात् श्रुत ज्ञानहरुको सङ्ग्रह मात्र हो । यो त मानवीय पूर्ण चेतनाको परिष्कृतस्वरुप एवं जीवन रुपान्तरणको गहन र विशिष्ठ विज्ञान हो । यसले बाह्य संसारलाई भन्दाबढी आत्मअन्वेषण, विवेक र अनुभूतिलाई महत्व दिन्छ र जीवन र जगत्का जटिल समस्याहरूको पनि मूल कारण खोजेर समाधानका लागि आवश्यक दृष्टि प्रदान गर्दछ । हाम्रा छरिएर रहेका वैदिक, बौद्ध, जैन तथा अन्य दर्शन तथा दार्शनिक परम्पराका ज्ञानहरूलाई एकीकृत सिद्धान्तका रूपमा विकास गर्न सकिने अनेकन आधार र तथ्यहरु हामीसँगै छन् । यसो गर्न सकियो भने त्यसले केबल बौद्धिक सम्पदा समृद्ध बनाउने मात्र होइन, आधुनिक चुनौतीहरूको समाधानका लागि पनि मौलिक तथा वैचारिक आधारहरु निर्माण गर्न सक्दछ । मलाई लाग्दछ, पूर्वीय दर्शनले हामीलाई अनुकरणमा मात्र होइन, आफ्नै चिन्तन, विश्लेषण र आत्मबोधमा आधारित दार्शनिक आत्मनिर्भरतातर्फ उन्मुख गराउँछ ।

हालको प्रतिस्पर्धात्मक शिक्षा प्रणाली, आधुनिकीकरण र कृत्रिम बुद्धिमताले विद्यार्थीमा मानसिक दबाब बढाएको पक्कै छ । यो दबाबले उनीहरुलाई तनावसमेत दिन थालेको छ । यसकारण उनीहरु एकाग्र र धैर्य बन्न पनि सकिरहेका छैनन् । त्यसकारण आफ्ना जीवनमा सफलता र समृद्धिको खोजिका लागि उनीहरु दशतिर कुद्नुपर्ने अवस्था सिर्जना भएको छ । यो दौडधूपले उनीहरुलाई केही हदसम्म भौतिक सुख त दिएको छ, तर मानसिक रुपमा भने दुःखी बनाइदिएको छ ।

यस्तो अवस्थामा पूर्वीय ज्ञानको प्राप्तिले उनीहरुको व्यावहारिक पक्ष बलियो बनाउने छ । यसका लागि योग, प्राणायाम र आसनको वैज्ञानिक अध्ययन उचित हुन सक्छ । कुनै पनि व्यक्ति तथा अनुसन्धानकर्ताको बसाइको मुद्रा, सासको सजगता र नियमित योगले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न सक्छ । हृदय स्वास्थ्य र ऊर्जाको स्तर सुधार गर्छ । पूर्वीय दर्शनले विशेषगरी ध्यान (मेडिटेसन) र सजगता (माइन्डफुलनेस) बाट तनाव, चिन्ता र अवसाद (डिप्रेसन) घटाउन मद्दत गर्छ । अनुसन्धानकर्ताका लागि धेरै घण्टासम्म एकाग्र भएर काम गर्दा मानसिक थकान हुन्छ । यस्तो अवस्थामा बुद्धको शिक्षा ‘सम्यक स्मृति (माइन्डफुलनेस)’ ले यस्तो थकान घटाएर भावनात्मक सन्तुलन कायम राख्न सक्छ । अध्ययन अनुसन्धानकर्ताहरुका लागि यी पद्दतिहरु अहिले अचुक औषधि पनि बनिरहेका छन् ।

हाम्रा पूर्वीय दर्शनलाई सिद्धान्तका रुपमा स्थापित गर्न सकिने केही उदाहरणहरु जस्तैः गौतम बुद्धद्वारा प्रतिपादित चार आर्य सत्य बौद्ध दर्शनको मूल आधार हो । यी सत्यहरूले मानव जीवनको दुःख, त्यसको कारण, समाधान र समाधानतर्फ जाने मार्गलाई स्पष्ट व्याख्या गर्छन् । यसलाई मानव जीवनका दुःख बुझ्ने वा त्यसको निवारण गर्ने एक सिद्धान्तका रुपमा स्थापना गर्न सकिन्छ । यसो गर्दा हाम्रा लाखौँ युवालाई दुःखको अनुभूतिबाट मुक्त गरेर शान्ति र सुखानुभूतिको मार्गमा डो¥याउन सकिन्छ ।

यो नै राष्ट्र निर्माणमा टेवा पुर्याउनसक्ने जनशक्ति हो । यसरी नै बुद्धका त्रिरत्न (‘बुद्धम् शरणम् गच्छामी’, ‘धम्मम् शरणम् गच्छामी’ र ‘सङ्गम शरणम् गच्छामी’) लाई ज्ञानको व्यवस्थापन वा ज्ञानको दिगोपनाको सिद्धान्त बनाउन सकिन्छ । मुण्डकोपनिषदमा ज्ञानलाई दुई भाग परा विद्या (उच्च ज्ञान÷आध्यात्मिक ज्ञान) र अपरा विद्या (निम्न ज्ञान÷सांसारिक ज्ञान) मा वर्गीकरण गरिएको छ । यसका आधारमा पनि ज्ञानको अध्ययन गर्न सकिन्छ ।

हाम्रो पूर्वीय दर्शनले जीवनका हरेक आयाम र अवस्थाको व्याख्या गरेको मात्र छैन, समस्याको समाधानका आधार पनि तयार पारेको छ । तर अब यसको गहन अध्ययन गरेर शिक्षा र अनुसन्धानमा समावेश गरी उच्च तहमा हुने अनुसन्धानमा सैद्धान्तिक आधार-मार्गचित्र बनाउन जरुरी छ । यसका लागि प्राज्ञिक व्यक्ति तथा अनुसन्धानकर्ताहरुको जोडबल आवश्यक छ । पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनु भनेको प्राचीन ज्ञानलाई आधुनिक वैज्ञानिक पद्धतिसँगै समायोजन गर्नु पनि हो ।

यसले अनुसन्धानकर्तालाई केबल तथ्य सङ्कलन गर्ने मेसिन मात्र बनाउँदैन, बरु संवेदनशील, सन्तुलित र समाजोपयोगी चिन्तक बनाउँछ । नेपालजस्तो सनातन पूर्वीय ज्ञानको भूमिमा प्राज्ञिक व्यक्तिहरुले यस विषयमा राष्ट्रिय बहस थाल्नु अतिआवश्यक छ किनभने आजको युगलाई समृद्धि र शान्ति दिने तथा जीवन र जगत्का हर समस्याको समाधान दिनसक्ने अनुसन्धानको जग नै पूर्वीय दर्शन हुनसक्छ ।

(डा कार्की नेपाल फिलसफिकल रिसर्च सेन्टरका अध्यक्ष हुनुहुन्छ)