३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै



अ+ अ-

तेहरान। अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव तथा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको समझदारीमा डिजिटल हस्ताक्षर भएपछि दुवै पक्षले यसलाई आफ्नो कूटनीतिक सफलता भएको बताएका छन् । सम्झौताको पूर्ण विवरण सार्वजनिक नभएकाले विभिन्न महत्वपूर्ण विषयमा दुवै पक्षका धारणा अझै फरक देखिएका छन् ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले राज्य सञ्चारमाध्यममार्फत सम्बोधन गर्दै इरानले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न सफल भएको दाबी गर्नुभयो । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताले मध्यपूर्वमा स्थिरता कायम गर्न तथा विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दुवै पक्षले स्टेट अफ हर्मुज सञ्चालनमा ल्याउने तथा सैन्य गतिविधि रोक्ने सहमति भएको बताएका छन् । तर जहाज आवागमनसम्बन्धी शुल्कका विषयमा स्पष्ट सहमति सार्वजनिक भएको छैन ।

अमेरिकी पक्षले जलमार्ग निःशुल्क रहने जनाएको छ भने इरानी सञ्चारमाध्यमले निश्चित अवधिपछि सुरक्षा तथा अन्य सेवाबापत शुल्क लाग्न सक्ने उल्लेख गरेका छन् ।

युद्धविरामको घोषणा भए पनि दक्षिणी लेबनानमा इजरायली सेनाको उपस्थितिबारे दुवै पक्षको धारणा फरक देखिएको छ ।

इरानले लेबनानमा स्थायी शान्ति स्थापना सम्झौताको महत्वपूर्ण अंश रहेको जनाएको छ । तर अमेरिकी अधिकारीले इजरायली सेनाको फिर्ती सम्झौताको अनिवार्य शर्त नभएको बताएका छन् ।

यसैगरी दुवै पक्षले इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको स्वीकार गरेका छन् । तथापि, उच्चस्तरमा संवर्धित युरेनियमको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति अझै स्पष्ट हुन सकेको छैन ।

इरानले युरेनियमको व्यवस्थापन आफ्नै भूमिमा गर्नुपर्ने अडान राखेको छ भने अमेरिकी पक्षले यस विषयमा थप प्राविधिक छलफल आवश्यक रहेको जनाएको छ ।

इरानी पक्षले रोकिएका सम्पत्ति फुकुवा हुने तथा पुनःनिर्माणका लागि सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ । तर अमेरिकी पक्षले कुनै पनि आर्थिक सुविधा इरानले आफ्ना दायित्व पूरा गरेपछि मात्र उपलब्ध गराइने स्पष्ट पारेको छ ।

सम्झौतापछि आगामी ६० दिनसम्म प्राविधिक तथा विस्तृत वार्ता सञ्चालन हुने जनाइएको छ । विश्लेषकका अनुसार यस समझदारीले तत्काल तनाव कम गर्न सकारात्मक भूमिका निर्वाह गर्न सक्छ । तर दीर्घकालीन शान्ति र स्थायित्वका लागि अझै विस्तृत संवाद, स्पष्ट कार्यान्वयन योजना तथा आपसी विश्वास आवश्यक रहने देखिन्छ । रासस