वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८०औँ जन्मदिनलाई केन्द्रमा राखेर ह्वाइट हाउसको साउथ लनमा आयोजना गरिएको विशाल युएफसी केज फाइट कार्यक्रमले अमेरिकी राजनीति र सार्वजनिक खर्चबारे तीव्र बहस जन्माएको छ ।
‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यो कार्यक्रमलाई समर्थकहरूले उत्सव र स्वतन्त्रताको प्रदर्शनका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसलाई असंवेदनशील र विवादास्पद कदम भनेका छन् ।
आइतबार हुने भनिएको उक्त कार्यक्रमका लागि ह्वाइट हाउसको साउथ लनमा ‘द क्लाउ’ नामक विशाल पिँजडा अखाडा निर्माण गरिएको छ र त्यहाँ १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) खेलाडीहरूबीच केज फाइट प्रतिस्पर्धा हुनेछ । रक्तपातपूर्ण शैलीका लडाइँलाई केन्द्रमा राखिएको यो प्रतियोगिता अमेरिकी राष्ट्रपति कार्यालयको इतिहासमै असाधारण मानिएको छ ।
करिब छ करोड अमेरिकी डलर लागत अनुमान गरिएको कार्यक्रमलाई लिएर सार्वजनिक आलोचना चर्किएको छ । आलोचकहरूले युद्ध तथा आर्थिक चुनौतीका बीच यस्तो खर्चिलो र माचो शैलीको कार्यक्रम उपयुक्त नभएको टिप्पणी गरेका छन् । तर राष्ट्रपति ट्रम्पले यसलाई अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव सुरु गर्ने अवसरका रूपमा व्याख्या गर्नुभएको छ र कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले व्यहोर्ने दाबी गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले न्युयोर्क पोस्टसँगको कुराकानीमा लडाकू खेलाडीहरूको प्रशंसा गर्दै उनीहरूलाई ‘सबैभन्दा कठोर व्यक्तिहरू’ का रूपमा वर्णन गर्नुभएको छ । उहाँका अनुसार यस्तो कार्यक्रमले अमेरिकी खेल र शक्ति प्रदर्शनको नयाँ रूप देखाउनेछ ।
कार्यक्रममा इन्टरनेसनल मिक्स्ड मार्सल आर्ट (एमएमए) को प्रभावशाली उपस्थिति रहने अपेक्षा गरिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युएफसीसँगको सहकार्यलाई स्वागत गर्दै यसलाई ‘अमेरिकी जनताका लागि उपहार’ भन्नुभएको छ । उहाँका अनुसार यो कार्यक्रम विश्वभर करिब एक अर्ब दर्शकले हेर्न सक्ने सम्भावना छ ।
कार्यक्रमका आयोजक डाना ह्वाइटका अनुसार करिब चार हजार दर्शकले प्रत्यक्ष रूपमा ह्वाइट हाउस परिसरभित्र खेल हेर्नेछन् । तीमध्ये आधाभन्दा बढी अमेरिकी सेनाका सदस्य हुनेछन् । थप एक लाख २५ हजार दर्शकले ह्वाइट हाउस बाहिरको एलिप्स क्षेत्रमा राखिने विशाल स्क्रिनमार्फत खेल अवलोकन गर्ने अनुमान गरिएको छ ।
निर्माण गरिएको ‘द क्लाउ’ संरचना ६०० टनभन्दा बढी तौल र करिब १५४ फिट चौडाइ तथा ९२ फिट उचाइको रहेको बताइएको छ । यो ह्वाइट हाउस भवनभन्दा पनि अग्लो संरचना हो । ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिने साउथ लनमा यस्तो संरचना निर्माण हुनु पनि विवादको अर्को कारण बनेको छ ।
यो कार्यक्रमले ह्वाइट हाउसको दुई शताब्दीभन्दा लामो इतिहासमा नयाँ र असामान्य अध्याय थप्ने देखिएको छ । विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक शैलीअनुसार मनोरञ्जन, शक्ति प्रदर्शन र लोकप्रियतामूलक कार्यक्रमलाई राज्य संयन्त्रसँग जोड्दै अघि बढाइरहनुभएको छ ।
तर कार्यक्रमविरुद्ध कानूनी चुनौती पनि दायर भएको छ । सार्वजनिक भूमिको दुरुपयोग गरी राष्ट्रपतिको निकट सहयोगीहरूलाई फाइदा पु¥याउने प्रयास भएको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । ह्वाइट हाउसले भने सबै आरोप अस्वीकार गरेको छ ।
ट्रम्पले यस कार्यक्रमलाई अमेरिकाको स्वतन्त्रता दिवसको २५०औँ वार्षिकोत्सवको सुरुवातका रूपमा प्रस्तुत गर्दै यसलाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गर्नुभएको छ । कार्यक्रमपछि संरचना हटाइने योजना रहेको पनि अधिकारीहरूले स्पष्ट पारेका छन् ।(रासस/एएफपी)











