२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा



अ+ अ-

काठमाडाैँ । नेपालमा लागुऔषधको दुव्र्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सिमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ ।

पछिल्लो सर्वेक्षणअनुसार नेपालमा लागुऔषध दुव्र्यसनीको संख्यामा वृद्धि भइरहेको छ । विशेष गरी १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढी परेका छन् । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारहरूमा समेत लागुऔषध सम्बन्धी मुद्दाका कैदीबन्दीको चाप उच्च रहेको बताउनु भयो ।

बिहीवार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले तराईदेखि हिमालसम्म नै यो समस्या फैलिएको बताउनु भयो । आर्थिक वर्ष २०८०/८१ मा ब्युरोले ८सय १४ वटा मुद्दा दर्ता गरेको थियो भने आ.व. २०८१/८२ मा यो संख्या बढेर १ हजार १ सय ३२ पुगेको थियो । चालु आर्थिक वर्षमा हालसम्म ८ सय ३७ वटा मुद्दा दर्ता भएका छन् ।

पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या केही घटेको देखिए पनि विदेशी नागरिकहरूको संलग्नता भने बढ्दो छ । गत वर्ष १ सय ७७ जना विदेशी नागरिक पक्राउ परेकोमा यस वर्ष १ सय ६० पुरुष र १४ महिला गरी कुल १७४ जना पक्राउ परिसकेका छन् ।

ब्युरोले गाँजा, चरेस, हेरोइन, ओपियम र महँगो मानिने कोकिन समेत ठूलो परिमाणमा बरामद गर्दै आएको छ । दक्षिण अमेरिकी मुलुकबाट नेपाल हुँदै अन्यत्र लैजाने गरिएको कोकिन नियन्त्रणमा प्रहरीले विशेष सफलता प्राप्त गरेको छ ।

हालै मात्र पेटभित्र लुकाएर लागुऔषध ल्याउने एक सेनेगली नागरिकलाई पक्राउ गरी ६० वटा ट्याब्लेट बरामद गरिएको र थप ५६ हजार २ सय ट्याब्लेट अन्य लागुऔषध समेत बरामद भएको जानकारी दिएको छ । हाल गाँजा र चरेससँगै सेमि–सिन्थेटिक ड्रग्स (एम्पुल, नाइट्रोजन, कोरेक्स, एमडीएमए, एलएसटी) को प्रयोग पनि बढेको पाइएको पनि महानिरीक्षक कार्कीले बताउनु भयो ।

ब्युरोको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाबारे जानकारी दिँदै नियन्त्रणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताउनु भयो ।वि.सं. २०४९ सालमा ‘लागुऔषध कानून कार्यान्वयन एकाइ’ को रूपमा स्थापना भएको यो ब्युरो हाल देशभर १५ वटा युनिटमार्फत क्रियाशील छ ।

काठमाडौंमा मुख्य कार्यालय रहेको ब्युरोका शाखाहरू मोरङ, सुनसरी, चितवन, पोखरा, भैरहवा, बाँके र कैलाली लगायतका सीमावर्ती क्षेत्रमा विस्तारित छन् । ब्यूरोमा ७८ जनाको मात्र दरबन्दी भएपनि कार्यचाप र आवश्यकतालाई मध्यनजर गर्दै हाल २ सय १५ जना जनशक्ति परिचालन गरिएको महानिरीक्षक कार्कीले जानकारी दिनुभयो । स्थापनाको तीन दशक बिते पनि ब्युरोको आफ्नै भवन नहुँदा वार्षिक लाखौँ रुपैयाँ भाडामा खर्च भइरहेको छ ।

महानिरीक्षक कार्कीकाअनुसार ब्युरोले बजेट र प्रविधिको गम्भीर अभाव झेलिरहेको छ । अपरेसन र सूचना संकलनका लागि विनियोजित ५–५ लाख रुपैयाँ अत्यन्तै न्युन रहेको उहाँले गुनासो गर्नुभयो । यस्तै, लागुपदार्थ सेवन (लापसे) जाँच गर्ने उपकरण (ब्रेथलाइजर जस्तै), एक्सरे मेसिन र दक्ष प्राविधिक जनशक्तिको अभावले गर्दा अनुसन्धानमा कठिनाइ भइरहेको छ । पक्राउ परेका घाइते वा बिरामी अभियुक्तको उपचार खर्च समेत प्रहरीले नै व्यहोर्नुपर्ने बाध्यता रहेको छ ।

ब्युरोले आगामी तीन वर्षका लागि (२०८३–२०८६) विशेष कार्ययोजना तर्जुमा गरेको छ । यस अन्तर्गत ‘इन्टिग्रेटेड नार्कोटिक इन्टेलिजेन्स म्यानेजमेन्ट सिस्टम’ लागू गर्ने लक्ष्य राखिएको छ, जसमा गृह मन्त्रालय, अध्यागमन, भन्सार र नेपाल प्रहरीबीच समन्वय हुनेछ । साथै, ७७ वटै जिल्लामा वस्तुगत सर्वेक्षण गरी पकेट क्षेत्रहरू पहिचान गर्ने र ‘इन्टेलिजेन्स लेड पोलिसिङ’ मार्फत नियन्त्रण अभियान चलाउने योजना रहेको छ ।

ब्युरोले लागुऔषध अपराधलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेर समेत अनुसन्धान प्रक्रिया अगाडि बढाएको उहाँले बताउनु भयो । जसले मुलुकलाई वित्तीय अपराधको ‘ग्रे लिस्ट’ बाट बाहिर राख्न समेत मद्दत पुग्ने विश्वास लिइएको महानिरीक्षक कार्कीको भनाइ छ । –