१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारी रोक्न गाउँमै गलैँचा बुनाइ



अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी ३९ वर्षीया माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैँचा बुनेर बित्ने गरेको छ ।

घरको काम र खेतीपातीबाट बचेको समय उहाँले गलैँचाको तानलाई दिने गर्नुभएको छ । शारीरिक रुपमा पनि धेरै भार नपर्ने हुँदा उहाँले यो पेशालाई व्यावसायिक बनाउनुभएको हो । घरमै बसेर अरु काम भ्याएर पनि सजिलैसँग गलैँचा बुन्न सकिने भएकाले यो पेशाप्रति रुचि बढेको उहाँ बताउनुहुन्छ ।

एउटा गलैँचा बुन्न १५ दिनजति समय लागने माइली बताउनुहुन्छ । “अरू सीप केही जानिँदैन्, यसैले आत्मनिर्भर बनाएको छ”, उहाँले भनिन् । माइली तामाङ गलैँचा बुनेर महिनामा १७ हजार कमाइ हुने सुनाउँछिन् । “घरको सबै काम भ्याएर यो काम गर्न सकिन्छ”, उहाँले भनिन् । व्यावसायिक कृषि खेतीमा उत्तिकै सक्रिय माइलीले अरूभन्दा गलैँचा बुन्दा आफ्नो सीप बढेको अनुभव गरेकी छिन् ।

२८ वर्षीया निशा तामाङको पनि दैनिकी गलैँचाकै कारण फेरिएको छ । गएको जेठबाट तानमा बस्न शुरु गर्नुभएको निशाले गलैँचा बुनेर कमाइ बलियो बनाउन सक्ने भइसक्नुभएको छ ।

उहाँले तयार गरेको गलैँचा गाउँमै आएर व्यवसायीले खरीद गर्ने गरेका छन् । त्यसैले पनि काम गरेर बिक्री नहोला भन्ने चिन्ता उहाँमा छैन । माइली र निशा मात्रै होइन शैक्षिक र आर्थिकरुपले पछि परेको तामाङ जातिको थगाम टोलमा ३० भन्दा बढी महिलाले गलैँचा बुन्ने काम गरेर घरबार धान्दै आएका छन् ।

घरेलु काम र खेतीपातीबाट बचेको समय गलैँचा बुनेबापतको पारिश्रमिकले यहाँका महिला आत्मनिर्भर बनेका छन् । उनीहरुले यो पेशालाई व्यावसायिक बनाउन समूहमार्फत काम गर्छन् । संस्थागत रुपमै एकताबद्ध भएर काम गर्दा सहज हुने भएकाले उनीहरु सङ्गठित बनेका हुन् ।

गलैँचा बुन्ने जनजाति महिलाले प्रगतिशील महिला उद्यमी समूह गठन गरेका छन् । उनीहरुमा यो सीप र जाँगर भने भूकम्पपछिको जीविकोपार्जनको लागि स्थानीय निकायबाट रु एक लाख ६० हजार र सामाजिक संस्था टुकी सङ्घ सुनकोशीले रु ५० हजार रकम उपलब्ध गराएपछि शुरु भएको हो ।

गलैँचा बुन्नुको सीपप्रतिको आकर्षणले गर्दा यो टोलको झण्डै घरै पिच्छेका महिला उद्यमी बनेका छन् । गलैँचा बुन्न जानेकाले घरेलु र खेतीपातीको कामबाट बचेको समयलाई सदुपयोग गर्ने गरेको विष्णुमाया बताउनुहुन्छ । गफगाफमा बित्ने समयलाई गलैँचा बुन्नमा लगाएपछि आपसमा सद्भाव बढ्दै गइरहेको उहाँको अनुभव छ ।

गलैँचा बुन्ने पेशा अरुभन्दा दीर्घकालीन र क्षमता बढाउने देखेकाले जनजाति महिलामा आकर्षण बढेको हो । शारीरिक कष्ट कम हुने हुँदा बुढ्यौलीले छुने बेलासम्म पनि काम गर्न सकिने हुँदा यो पेशामा लागेको उद्यमीको भनाइ छ । गलैँचा बुन्ने उद्यमी बढेपछि यहाँका महिलाले आफँै कारखाना खोल्ने उद्देश्य राखेका छन् । घुम्थाङभरका महिलालाई सक्षम बनाउनको लागि गलैँचा बुन्ने सीपमूलक अभियान अगाडि बढाइएको वडाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

“जिल्लाबाट वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने क्रम बढेपछि यो गाउँमै रोजगार दिलाउन यो कार्यक्रम शुरु गरिएको हो”, उहाँ भन्नुहुन्छ, “आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बुझ्दै नबुझी विदेश जाँदा समस्या भोग्नु परेकाले अध्ययन नभएका महिलाले पनि गाउँमै बसेर कमाउन सक्छन् भनेर देखाउन पनि यता आकर्षित गरेका हौँ ।” गलैँचा तयार भइसकेपछि गाउँकै व्यवसायीले बिक्रीका लागि लैजाने गरेको वडाध्यक्ष श्रेष्ठको कथन छ । एउटा सामान्य गलैँचा ३० देखि ४० हजारमा रुपैयाँमा बिक्री हुने गरेको छ ।