काठमाडाैँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसान मारमा परेको उल्लेख गर्दै ६ लाख बाँदर मार्नुपर्ने बताउनुभएको छ ।
संसद भवन परिसरमा कुराकानी गर्दै उहाँले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गर्नुभयो । ६०० वटा बाँदर मारेको आरोपका सम्बन्धमा सोधिएको प्रश्नमा सांसद राईले आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर जनताले बाँदर मार्दा आफूले त्यस कार्यमा सहयोग गरेको स्वीकार गर्नुभयो ।
पशु अधिकारकर्मीहरूले जनावरको अधिकारका विषयमा गरिरहेको विरोधप्रति लक्षित गर्दै उहाँले व्यवहारिक समस्या बुझ्न आग्रह गर्नुभयो । एनिमल लभर्सहरू माइतीघरमा बसेर आन्दोलन गरिरहेको तर वास्तविक समस्या किसानको मकैबारी र अलैँची घारीमा रहेको उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ । ६०० होइन, अब ६ लाख बाँदर मार्नुपर्छ, तब मात्र शान्ति हुन्छ । लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले एकैछिनमा नष्ट गरिदिन्छ । किसानहरू धुरुधुरु रोइरहेका छन् । यस्तो अवस्थामा विदेशीले बनाइदिएको कानून र एनजीओ÷आईएनजीओको कुरा सुनेर जनतालाई पीडा दिनु हुँदैन ।’
सांसद राईले आफू कुनैपनि कानूनी कारबाही वा जेल जान नडराउने समेत स्पष्ट पार्नुभयो । उहाँले विगतमा व्यवस्था परिवर्तनका लागि लडेका मानिसहरू उजुरीको भरमा नडराउने बताउनु भयो । बाँदर संरक्षणको वकालत गर्नेहरूलाई गाउँका मकैबारीमा गएर किसानको अवस्था बुझ्न उहाँले चुनौती समेत दिनुभयो ।











