काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहानगरको प्रमुख पदका लागि उम्मेद्वार छनोट गरेको छ। कांग्रेसले प्रमुख पदका लागि तिलक राईलाई छनोट गरेको हो।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।
यता बैठकले कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार चयन गर्न पदाधिकारीलाई भनेको छ।
त्यस्तै बागलुङ निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य, भक्तपुर १ र दाङ ३ को प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि पदाधिकारीलाई अख्तियारी दिने निर्णय कांग्रेसले गरेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।