• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीका लागि बालुवाटारमै मेडिकल रुम बनाउन चिकित्सककाे सुझाव



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा छिटो–छिटो समस्या देखिन थालेपछि उपचारका लागि बालुवाटारमै मेडिकल रुम बनाउने तयारी भएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै डायलासिससमेत गर्न मिल्ने गरी बालुवाटारमै विशेष प्रकारको मेडिकल रुम बनाउने तयारी भएको हो ।

शुक्रबार बालुवाटारमा भेला भएका चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेर्दा निवासमै विशेष उपचार सुविधा आवश्यक देखिएको सुझाब दिएका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि बेला गम्भीर समस्या देखिए निवासमा साधारण उपचार गर्न पनि सम्भव छैन । जामलगायत समस्याका कारण तत्कालै अस्पताल लैजान पनि कठिन हुन सक्छ । त्यसैले निवासमै मेडिकल रुम बनाउन सुझाब दिएका छौँ,’ प्रधानमन्त्रीको उपचारमा संलग्नमध्ये एक चिकित्सकले भने । त्यसमा बालुवाटार पनि सहमत रहेको उनले बताए ।

प्रधानमन्त्री निवास, बालुवाटार (फाइल तस्वीर)

ती चिकित्सकका अनुसार डायलासिस गर्ने उपकरण कस्तो राख्ने भन्नेबारे शुक्रबार चिकित्सकहरूको भेलामा छलफल भएको छ । बेलाबेलामा प्रधानमन्त्रीको नियमित डायलासिस गर्नुपर्ने हुन सक्छ । प्रधानमन्त्रीको मुटुमा समेत समस्या भएकाले पनि मेडिकल रुम अनिवार्य भएको ति चिकित्सकले बताए । आइसियूसहितको मेडिकल रुममा विशेषज्ञ डाक्टर र नर्सहरू खटिनेछन् ।

नियमित डायलासिस गर्नुपरे हप्तामा तीनपटक गर्नुपर्ने हुन्छ । त्यतिवेला प्रधानमन्त्रीलाई अस्पताल लाने र ल्याउने गर्नुभन्दा निवासमै डायलासिस गराउनु राम्रो हुने एक चिकित्सकले बताए । तर, तत्काल नियमित डायलासिस गर्नुपर्ने वा नपर्नेबारे नमुना संकलनको सबै रिपोर्ट आएपछि मात्रै थाहा हुने एक निजी चिकित्सकले बताए । उनका अनुसार प्रधानमन्त्रीको शुक्रबारको स्वास्थ्य अवस्था हेर्दा तत्काल नियमित डायलासिस गर्नु नपर्ने देखिन्छ ।

बालुवाटारमै डायलासिस गर्ने भन्ने सत्य होइन
डा कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

अस्पतालबाट डिस्चार्ज भएपछि अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुबाहेक प्रधानमन्त्री आराम गरिरहनु भएको छ । उहाँ निजी चिकित्सकहरूको अब्जरभेसनमा बस्नुभएको छ । बालुवाटारमै डायलासिस गर्न मेडिकल रुम बनाउने कुरा मलाई थाहा छैन, सत्य हो भन्ने पनि लाग्दैन । अब के गर्ने भन्नेबारे चिकित्सकहरूले अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । नयाँपत्रिकामा अर्जुन अधिकारी लेख्छन् ।