• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित ★   इलाम २ उपनिर्वाचन: मत गणनास्थल तयारी अवस्थामा

अस्ट्रेलियासामु श्रीलंका निरिह, तीनै खेल अस्ट्रेलियाको कब्जामा



मेलबाेर्नः अस्ट्रेलियाले श्रीलंकासँग तीन खेलको ट्वान्टी–२० क्रिकेट शृंखला क्लिनस्वीप गरेको छ । उच्च लयमा रहेका ओपनर ब्याट्सम्यान डेविड वार्नरले लगातार तेस्रो अर्धशतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियाले ७ विकेटको जित हासिल गरेको थियो ।

मेलवर्न रंगशालामा शृंखला क्लिनस्वीप गर्नुअघि अस्ट्रेलियाले एडिलेडमा भएको पहिलो खेल १ सय ३४ रनले जितेको थियो । ब्रिसबेनमा ९ विकेटको जित निकाल्ने क्रममा ७ ओभरमात्र खेल्यो । तेस्रो खेलमा श्रीलंकाको ब्याटिङ सुस्त थियो । तर कुशल परेराले इनिङ्सको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै ५७ रनको अर्धशतक बनाएपछि श्रीलंकाले ६ विकेट गुमाई १ सय ४२ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो । लासिथ मालिङगाको नेतृत्वमा रहेको श्रीलंकाली बलिङपंक्तिले सानदार अस्ट्रेलियाली ब्याटिङक्रममा कुनै असर पार्न सकेन । बल टेम्परिङ प्रकरणमा एकवर्षे प्रतिबन्धपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेलेका वार्नरले तीन खेलमा २ सय १७ रन जोडे । सबैमा उनी अविजित रहे ।

डेभिड वार्नर (फाइल तस्वीर)

‘हामी लक्ष्यमा निकै सानदार रह्यौं,’ अस्ट्रेलियाली कप्तान आरोन फिन्चले भने, ‘पछिल्लो २ खेलमा हाम्रा बलरले जसरी खेल नियन्त्रणमा लिए, त्यो वास्तवमै सानदार थियो । हरेक खेलमा फरक चुनौती र माहोल हुन्छ । महत्त्वपूर्ण कुरा तपाईले कसरी आफ्नो शतप्रतिशत दिनुहुन्छ भन्ने नै हो । चाहे तयारीमा होस् या मानसिक रूपमा ।’

मेलबर्न क्रिकेट मैदानमा ओपनर फिन्च र वार्नरको क्याच इनिङ्सको सुरुमै ड्रप भएको थियो । यी दुईले पहिलो विकेटमा ६९ रनको साझेदारी गरे । ३ छक्का प्रहार गरेका फिन्च ३७ रनको स्कोरमा लाहिरू कुमाराको बलमा सेहान जयसूर्याको हातबाट क्याचआउट भए ।

त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथले ९ बलमात्र खेल्न सके । उनी १३ रनको स्कोरमा डिपक्षेत्रमा क्याचआउट भए । सुरुआती दुई खेलमा क्रमशस् १०० र ६० अविजित इनिङ्स खेलेका वार्नर आफ्नो लयका लागि संघर्ष गरिरहेको क्रिजको माइक्रोफोनमार्फत सुनिएको थियो । तर उनले आफूलाई उही लयमा निरन्तरता दिन सके । ४४ बलमा अर्धशतक पूरा गरेका वार्नरले आउट नभई ५७ रन बनाएर टिमलाई जित दिलाए । उनलाई एस्टोन टर्नरले २२ रन बनाएर साथ दिए । अस्ट्रेलियाले १४ बलअगावै ३ विकेट क्षतिमा १ सय ४५ रन बनायो ।

अर्को वर्ष घरेलु मैदानमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि अस्ट्रेलिया शीर्ष वरीयतामा आउन प्रयासरत हुनेछ । श्रीलंकाविरुद्धको यो क्लिनस्वीपले दक्षिण अफ्रिकालाई पछि पार्दै विश्व वरीयतामा तेस्रो स्थानमा उक्लने निश्चित भइसकेको छ । यो भन्दा ठूलो परीक्षण भने आइतबारदेखि सुरु हुनेछ । जहाँ उसले विश्व वरीयतामा शीर्षस्थानको पाकिस्तानविरुद्ध तीन ट्वान्टी–२० शृंखलामा पहिलो खेल खेल्दैछ ।

‘हामी स्तरअनुसार उत्रन सकेनौं । हामीले शतप्रतिशत खेल्न सक्दैनौं भने यस्तै नतिजाका लागि तयार हुनुपर्छ,’ श्रीलंकाका ओपनर निरोशान डिकवालाले भने, ‘हामीले यो शृंखलाबाट धेरै कुरा सिकेका छौं । तर हामीले राम्रो खेल्न सकेनौं ।’ फिन्चले टस जितेर श्रीलंकालाई ब्याटिङ गर्न निम्तो गरे । तर पाहुना टोलीले राम्रो सुरुआत गर्न सकेन । नियमित ओपनर दनुस्का गुणाथिलांकाको स्थानमा अवसर पाएका डिकवाला पहिलो बलमै आउट भए । कुशल मेन्डिस र परेराले केही आक्रामक बाउन्ड्री प्रहार गरे । केन रिचर्डसनको बलमा ठूलो शट खेल्ने चक्करमा मेन्डिस १३ रनको स्कोरमै डिप स्क्वायर क्षेत्रमा क्याचआउट भए ।

परेरा र अभिष्का फर्नान्डोले १० ओभरमा ६५–२ को स्थितिमा पुर्‍याए । यी दुईले ४३ रनको साझेदारी गरे । यो साझेदारी श्रीलंकाको शृंखलाकै ठूलो रह्यो । फर्नान्डो पनि २० रनको स्कोरमा प्याट कमिन्सको बलमा क्याचआउट भए । क्रिजमा आएका ओसादा फर्नान्डो पनि ६ रनको स्कोरमै आउट भए ।

तर परेराले आक्रामक शट खेल्दै श्रीलंकाको इनिङ्स उकास्न महत्त्वपूर्ण सहयोग गरे । उनले करिअरको छैटौं ट्वान्टी–२० अर्धशतक ३८ बलमा पूरा गरे । कमिन्सकै बलमा मिडअफमा एस्टोन टर्नरद्वारा क्याचआउट हुनुअघि उनले ५७ रनको योगदान गरे ।