१ असार २०८३, सोमबार
,
Latest
मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको ‘भीभीआईपी’ कक्ष सधैं रित्तै



अ+ अ-

काठमाडौं । वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ। हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ। बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ। बाथटबसहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छ।स्टोरसहितका आठवटा भीभीआईपी कक्षका विभिन्न कोठामा आगन्तुकका लागि महँगो सोफा छ। अस्पतालको सुविधासम्पन्न भीभीआईपी शड्ढयामा तीस वर्षयता कोही पनि सेवा लिन पुगेका छैनन्।

तर पनि हरेक साताको कम्तीमा दुईपटक पुछपाछ भइरहेको छ। महँगा बिलासी सोफामा धुलो पर्न नदिन प्लास्टिकले बेरेर राखिएको छ। भीभीआईपी कक्षकी इन्चार्ज सीता अर्याल भन्छिन्, ‘ठूला व्यक्ति आउन सक्ने भएकाले सफा चिटिक्क त पार्नैपर्यो नि।’ अस्पतालले तयार पारेको निर्देशिकाअनुसार भीभीआईपी व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति र बहालवाला उपप्रधानमन्त्रीसमेत पर्छन्।

गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो। प्रधानमन्त्री केपी ओली पनि शिक्षण अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन्। प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च रक्तचाप भएको जनाउँदै नर्भिक इन्टरनेसनल अस्पतालमा बसे। पूर्वराष्ट्रपति रामवरण यादव दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए। तर उनले पनि भीभीआईपी कक्ष उपयोग गरेनन्।

२०४६ सालअघि राजपरिवारका सदस्यले भीभीआईपी कक्षको उपयोग गरेको अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले जानकारी दिए। तीस वर्षयता मुलुकका भीभीआइपीहरू सेवा लिन नआए पनि उक्त कक्ष चुस्त ढंगले राखिएको छ। इन्चार्ज अर्यालका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका विदेशी राष्ट्राध्यक्ष आउँदा पनि भीभीआईपी कक्ष तयारी अवस्थामा राखिएका थिए। स्टोरसहितका आठवटा कक्ष भीभीआईपीका लागि छुट्याइएको छ।

मनिटरसहितको वातानुकूलित यन्त्र (एसी) जडित शैय्या छ। मुटु परीक्षणका लागि ‘डिफ्रिब्रिलेटर’ जडान गरिएको छ। ईसीजीको व्यवस्था छ। शड्ढयामै मुटुको चाल मापन गर्न सकिने उपकरण, अक्सिजन आपूर्ति गर्न सकिने आधुनिक उपकरण रहेको इन्चार्ज अर्यालले जानकारी दिइन्। त्यस्तै माइक्रोओभन, ग्यास चुलो र सोफासहितको व्यवस्थित किचेन कोठा छ।

बिरामी भीभीआईपीलाई भेट्न आउने आगन्तुक, सुरक्षा गार्ड, स्वास्थ्यकर्मी बस्ने सुविधायुक्त छुट्टाछुट्टै कक्ष छन्। भीभीआईपी आउनासाथ सेवामा जुट्न ६ जना नर्सिङ जनशक्ति र अन्य सातजना कर्मचारी चौबिसै घण्टा तैथान छन्। अस्पतालका निर्देशक डा.सेन्चुरी भन्छन्, ‘भीभीआईपीहरू आइदिए हुन्थ्यो। दक्ष चिकित्सक पनि छन्। हामी सेवा गर्न आतुर छौं।’ अन्नपुर्णपोष्ट दैनिकबाट