२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री वाग्लेको दाबी: बजेट सानो र यथार्थपरक छ



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उठेका ठुलो र महत्त्वाकाङ्क्षी भन्ने आलोचनालाई अस्वीकार गर्दै बजेट राज्यको क्षमता अनुसारकै रहेको स्पष्ट पार्नु भएकाे छ ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटको आकारलाई निरपेक्ष अंकका आधारमा नभई कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपातमा मूल्यांकन गर्नुपर्ने बताउनु भयाे ।

उहाँका अनुसार आगामी आर्थिक वर्षको प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको अवस्थामा करिब २१ खर्ब रुपैयाँको बजेट जीडीपीको २८.५ प्रतिशत मात्र हुन आउँछ । जसले यसलाई “सन्तुलित र यथार्थपरक” बनाउने उहाँको तर्क छ ।

अर्थमन्त्री वाग्लेले नेपालमा भूकम्प, कोभिड–१९ र त्यसपछिका अवस्थाका कारण बजेटको आकार अस्वाभाविक रूपमा बढेको स्मरण गराउँदै अहिले त्यसलाई पुरानै आर्थिक आधारमा फर्काउने प्रयास गरिएको बताउनुभयाे।

“भूकम्पअघिसम्म बजेट जीडीपीको २५ देखि २९ प्रतिशतको दायरामा थियो र खर्च तथा बजेटबीचको अन्तर पनि न्यून थियो,” उहाँले भन्नुभयाे, “तर पछिल्ला वर्षमा त्यो अनुपात ३७ प्रतिशतसम्म पुगे पनि कार्यान्वयन प्रभावकारी हुन सकेन। अहिले हामी त्यसलाई पुनः सन्तुलनमा ल्याएका छौँ।”

उहाँले बजेटलाई दीर्घकालीन आर्थिक स्थायित्व र कार्यान्वयन क्षमतासँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयाे ।